पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, घर र भवनहरुमा क्षति, ४५ पटकभन्दा बढी परकम्प

बिजमाण्डू
२०८३ असोज २४ गते ०९:२४ | Oct 10, 2026
पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, घर र भवनहरुमा क्षति, ४५ पटकभन्दा बढी परकम्प
पनामाको पेनोनोममा भूकम्पले क्षतिग्रस्त होटल। तस्बिर : एपी


मध्य अमेरिकी देश पनामामा शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले भवनहरूमा क्षति पुर्‍याएको छ। भूकम्पपछि राजधानीसहित विभिन्न स्थानमा मानिसहरू घर र कार्यालयबाट बाहिर निस्किएका छन्। प्रारम्भिक विवरणअनुसार केही व्यक्ति घाइते भएका छन्, तर शनिबार बिहानसम्म प्राप्त समाचारमा मानवीय क्षतिको पूर्ण विवरण सार्वजनिक भएको छैन।

GBIME
Tata

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्प स्थानीय समयअनुसार शुक्रबार दिउँसो १२ बजेर ५६ मिनेट (नेपाली समय राति ११: ४१)मा गएको थियो। यसको केन्द्र राजधानी पनामा सिटीबाट करिब २०० किलोमिटर टाढा, हेर्रा प्रान्तको पितालोजा अरिबा क्षेत्रनजिक थियो। भूकम्पको गहिराइ १२.६ किलोमिटर रहेको यूएसजीएसले जनाएको रोयटर्सले उल्लेख गरेको छ।

भूकम्पबाट मध्य पनामाका भेरागुआस, हेर्रा र लोस सान्तोस प्रान्त बढी प्रभावित भएका छन्। पेनोनोमे क्षेत्रमा सरकारी भवन, होटल र चर्चमा क्षति पुगेको छ। त्यहाँको सान आनास्तासियो चर्चको केही भाग भत्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ऐतिहासिक संरचनामा समेत क्षति पुगेको छ। पेनोनोमेमा संरचनाको केही भाग खस्दा एक व्यक्ति भग्नावशेषले लागेर घाइते भएको नागरिक सुरक्षा निकायका अधिकारीले बताएका छन्

भूकम्पपछि ४५ भन्दा बढी परकम्प गएको पनामाको विश्वविद्यालयका भूकम्पविद्ले बताएका छन्। तीमध्ये केही परकम्प ५ म्याग्निच्युडभन्दा शक्तिशाली थिए। राजधानी पनामा सिटीमा भवनहरू हल्लिएपछि मानिसहरू खुला स्थानमा पुगेका थिए। तर राजधानीमा ठूलो संरचनागत क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन्।

भूकम्पपछि पनामा, कोलम्बिया, इक्वेडर, निकारागुआ र ग्वाटेमालाका प्रशान्त महासागर किनारमा सुनामी आउन सक्ने सतर्कताको सूचना जारी गरिएको थियो। पछि उक्त सूचना फिर्ता लिएको समाचारमा उल्लेख छ। पनामा नहर र कोब्रे पनामा तामाखानीको सञ्चालन सामान्य रहेको तथा केही समय रोकिएको तोकुमेन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा पुनः सञ्चालनमा आएको रोयटर्सले जनाएको छ।

राष्ट्रपति जोसे राउल मुलिनोले नागरिकलाई शान्त रहन आग्रह गरेका छन्। अधिकारीहरूले प्रभावित क्षेत्रमा उद्धारसँगै क्षतिको विवरण लिने काम जारी राखेका छन्। प्रशान्त महासागर वरपर भूकम्प र ज्वालामुखी गतिविधि बढी हुने ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले पनामा भूकम्पीय जोखिम क्षेत्रमध्ये एउटामा पर्छ।