राष्ट्र बैंकले बैंकका सञ्चालकलाई बोलाएर भन्यो- खर्च व्यवस्थापन र प्रतिफलमा ध्यान दिनू

बिजमाण्डू
२०८३ असोज २३ गते १९:५७ | Oct 9, 2026
राष्ट्र बैंकले बैंकका सञ्चालकलाई बोलाएर भन्यो- खर्च व्यवस्थापन र प्रतिफलमा ध्यान दिनू


काठमाडौं। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका सञ्चालकहरूलाई व्यवसाय रणनीतिक रूपमा अघि बढाउन र खर्च व्यवस्थापन गर्न सुझाव दिएको छ।

GBIME
Tata

राष्ट्र बैंकले शुक्रबार वाणिज्य बैंकका सञ्चालकहरुलाई बोलाएर कर्जा लगानी सुस्त रहेको, निष्क्रिय कर्जा बढिरहेको र सञ्चालन खर्च वृद्धि भइरहेको भन्दै प्रतिफल सुधारका लागि व्यावसायिक रणनीतिमा ध्यान दिन भनेको हो।

राष्ट्र बैंकको नियमन विभागले गरेको कार्यक्रममा वाणिज्य बैंकका अध्यक्ष तथा लेखापरीक्षण हेर्ने सञ्चालकहरूलाई बोलाइएको थियो।

कार्यक्रममा बैंकिङ क्षेत्रको वर्तमान अवस्था, वित्तीय सूचक र चुनौतीबारे नियमन विभागले प्रस्तुतीकरण गरेको थियो। विभागले बैंकहरूको खर्च व्यवस्थापन, कर्जा लगानी र प्रतिफल सुधारका विषयमा ध्यानाकर्षण गराएको थियो।

कर्जा विस्तार सुस्त रहेको भन्दै बैंकहरूलाई खर्च नियन्त्रण गर्न र उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्न भनिएको छ। लगानीकर्ताले अपेक्षित प्रतिफल पाउन नसकेको भन्दै कार्यसम्पादनमा थप ध्यान पनि राष्ट्र बैंकले सुझाव दिएको छ।

‘दीर्घकालीन व्यावसायिक रणनीति बनाउन, लागत नियन्त्रण गर्न तथा कर्जाको गुणस्तर र प्रतिफल सुधारलाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएका छौं,’ राष्ट्र बैंकका एक कर्मचारीले भने।