एयर इण्डियाको सीइओमा नियुक्त भए टर्किस एयरलाइन्सका पूर्व अध्यक्ष इल्कर ऐची



बिजमाण्डू
२०७८ फागुन ३ गते १०:२३ | Feb 15, 2022
एयर इण्डियाको सीइओमा नियुक्त भए टर्किस एयरलाइन्सका पूर्व अध्यक्ष इल्कर ऐची

एयर इन्डियालाई आफ्नो स्वामित्व फर्काएसँगै भारतीय औद्योगिक घराना टाटा समूहले प्रबन्ध निर्देशक र प्रमुख कार्यकारी अधिकृतमा टर्किस एयरलाइन्सका निवर्तमान अध्यक्ष इल्कर ऐचीलाई नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

टर्किस एयरलाइन्सलाई सफलताको शिखरमा पुर्‍याउन सफल व्यक्तित्वलाई एयर इण्डियको प्रबन्ध निर्देशक र प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको टाटा सन्सका अध्यक्ष एन चन्द्र शेखरनले बताएका छन्।

ऐचीले आउँदो अप्रिल अगाडीनै कार्यभार सम्हाल्ने छन्।

'इतिहास बोकेको वायुसेवा कम्पनी र टाटा समूहसँग जोडिन पाउँदा गौरवान्वित छु। टाटासँगको सहकार्यमा एयर इण्डियाको सम्पदालाई थप विस्तार गर्दै अगाडि बढ्नेछौं,' नवनियुक्त प्रबन्ध निर्देशक ऐचीले भनेका छन्।

सन् १९७१ मा इस्तानबुलमा जन्मिएका ऐचीले विलकेन्ट विश्वविद्यालयबाट राजनीतीशास्त्र र पब्लिक एड्मिनिस्ट्रेसनमा स्नातक गरेका छन्। उनले युकेको लिड्स युनिभर्सिटीको राजनीतिशास्त्रमा खोज अध्ययन गरेका छन्।

सन् २०११ मा उनी 'द रिपब्लिक अफ टर्कि इन्भेष्टमेन्ट सपोर्ट एण्ड प्रमोसन एजेन्सी' मा अध्यक्ष पदमा नियुक्त भएका थिए। सन् २०१३ मा उनी वर्ल्ड एशोसिएसन अफ इन्भेष्टमेन्ट प्रोमोसन एजेन्सी अफ इन्भेष्टमेन्ट प्रमोसन एजेन्सीमा उपाध्यक्ष भएका हुन्।

हाल टाटाले एआइ, एआइ एक्सप्रेस, भिस्तारा, एयर एसिया इण्डिया लगायत उड्डयन सेवा दिँदै आएको छ।

सन् १९३२ मा स्थापना भएको थियो एयर इन्डिया। जहाँगिर रतनजी दादाभाइ टाटाले सुरु गरेका थिए। उनी आफैं जहाजका क्याप्टेन थिए। उनी त्यतिखेरका पहिलो लाइसेन्स होल्डर पाइलट थिए। त्यतिखेर यो संस्थाको नाम टाटा एयर सर्भिस राखिएको थियो।

सन् १९३८ सम्म आन्तरिक उडान गर्दै आएको कम्पनीले दोस्रो विश्वयुद्धपछि सरकारलाई जिम्मा दिएको थियो। भारत स्वतन्त्र भएपछि सरकारले यो कम्पनी खरिद गरेको थियो।

टाटाका नयाँ पुस्ताले ६८ वर्षपछि कम्पनीको स्वामित्व आफ्नै घरानामा फिर्ता ल्याएका हुन्। लगातार घाटामा चलेको एयर इन्डियालाई टाटा समूहले बोलकबोलमा खरिद गरेको हो। नुनदेखि सफ्टवेयर उत्पादक एवं ज्यागुआर र ल्याण्डरोभरको स्वामित्व रहेको टाटा सन्स समूहअन्तर्गत एयर एसिया इण्डिया र भिस्तारा एयरलाइन्समा धेरै सेयर छ।