काठमाडौं। लगानी बोर्डले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा शुब्रबार बसेको बोर्डको ६८औं बैठकले ५८.९ मेगावाटको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना र ४६.७२ मेगावाटको सानी भेरी-३ अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको हो।
नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा १० अर्ब ७५ करोड ४ लाख ९७ हजार र सानी भेरी-३ मा १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रूपैयाँ खर्च हुने अनुमान छ।
बोर्डले ९०० मेगावाटको अरुण-३ जलविद्युत् परियोजनाबाट सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन गर्न र ९०० मेगावाटकै माथिल्लो कर्णाली जलविद्युत् परियोजना सम्झौताको प्रावधान बमोजिम तत्काल निर्माण अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ। माथिल्लो कर्णाली जलविद्युत् आयोजना बनाउन २०७१ असोजमा परियोजना विकास सम्झौता भएको थियो।

बैठकले स्वीकृत परियोजनाको कार्यान्वयन तथा लगानीकर्तालाई प्रदान गरिने सेवामा सहजीकरण र प्रभावकारी कार्यसम्पादनका लागि बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङकी उक्याबलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ।

बोर्डले आह्वान नगरेका प्रस्ताव आवश्यकतानुसार स्वीस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराई अगाडि बढाइने भएको छ। यसका लागि आवश्यक कानुनी प्रबन्ध गर्ने काम बोर्डको कार्यालयले गर्नेछ।
बोर्डले कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनालाई प्राथमिकता दिने निर्णय गरेको छ।








