काठमाडौं। ब्याजदर न्यून हुँदा पनि व्यवसाय बढाउन नसकेका बैंकहरु असुलीमा केन्द्रित भएका छन्। न्यून ब्याजदर बीच कर्जाको माग अपेक्षाजनक नहुँदा ब्यालेन्सिट राम्रो देखाउन बैंकहरुमा असुली केन्द्रित भएका हुन्।
बैंकिङ प्रणालीमा १६ खर्ब तरलता थुप्रिएको छ। ऋणको औसत ब्याजदर साढे ६ प्रतिशत तल झरेको छ। तैपनि चालु आर्थिक वर्ष साढे २ महिनामा झन्डै १ खर्ब ३ अर्ब रुपैयाँले मात्रै कर्जा बढाएका छन्। पोहोर पहिलो पहिलो त्रैमासमा कर्जा ८० अर्ब रुपैयाँ कर्जा बढाएका थिए।
पोहोरको तुलनामा कर्जा केही बढेको भए पनि चाडपर्वको मुखमा गएको कर्जा अपेक्षाजन नरहेको बैंकरहरु बताउँछन्।
पहिलो त्रैमासमा चाडपर्वले उपभोग बढ्ने र आयात बढ्ने त्यसले आर्थिक गतिविधि बढेसँगै माग बढाउने भएपनि पछिल्ला वर्षहरुमा त्यस्तो नदेखिएको उनीहरुको भनाई छ।
नेपाल बैंकका सीइओ तिलकराज पाण्डेय व्यवासाय सुस्त हुँदा असुलीमा केन्द्रित भई ब्यालेन्सिट राम्रो बनाउनु पर्ने चुनौति रहेको बताउँछन्। ‘डिमान्ड साइट कमजोर छ। असुली बढी केन्द्रित भएका छौं,’ उनले भने,’असुलीमा अझै समस्या छ। तर, पोहोरको तुलनामा सुधार थोरै राम्रो देखिएको छ।’
नयाँ व्यवसाय कमजोर हुँदा बैंकहरुलाई पुरानै असुलीबाट ब्यालेन्सिट राम्रो बनाउनुपर्ने चुनौती छ। साथै, राष्ट्र बैंकले बैंकहरुलाई साउन १५ सम्म उठेको ब्याज आम्दानीलाई गत वर्षको नाफामा गणना गर्न दिएको थियो।
अधिकांश बैंकहरुले साउन १५ सम्मको ब्याजलाई असारको नाफामा देखाएका कारण पहिलो त्रैमासको नाफा प्रभावित हुने जोखिम छ। ब्याजदर घटेर ऋणीको लागत कम भएको बेलामा ब्यालेन्सिट राम्रो बनाउन असुली फोकस भएका छन्।
केही बैंकहरुले भने साउन १५ सम्ममा उठेको ब्याजदर गत वर्षको नाफामा नराखेका कारण ब्यालेन्सिट बिग्रिने चिन्ता छैन। एभरेष्ट र स्टान्डर्ड चार्टर्ड लगायतका केही बैंकहरुले साउनको ब्याज आम्दानीलाई असारमा नदेखाएका कारण चुनौती कम छ।
एभरेष्ट बैंकका सीइओ सुदेश खालिङ साउनको १५ दिनको ब्याज आम्दानीलाई असारमा नराखेको बताउँछन्। ‘राष्ट्र बैंकले साउन १५ सम्म ब्याज आम्दानीलाई असारको नाफा जोड्न पाउने सुविधा दिएको थियो,’ उनले भने,’साउनको १५ दिनको ब्याज आम्दानीलाई असारको नाफामा देखाउँदा त्यसको असर असोजमा आउँछ। त्यसकारण हामीले साउनको ब्याज आम्दानीलाई असारको रिपोर्टमा देखाएनौं।’
साउनको १५ दिनको आम्दानी असारमा नाफामा नराखेकाले धेरै अफ्ठेरो नपर्ने भएपनि असुलीमा केन्द्रित भइरहेको उनको भनाई छ।
पोहोर पहिलो त्रैमासम्ममा वाणिज्य बैंकहरुले १३ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा गरेका थिए। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वाणिज्य बैंकहरुले ८ अर्ब ७३ करोड रुपैयाँ नाफा गरेका छन्।
राष्ट्र बैंकले दिएको सहुलियतले साउन १५ सम्मको नाफालाई असारमा देखाएकाले पहिलो त्रैमासको वित्तीय विवरण राम्रो बनाउन ठूलो टिम नै रिकभरीमा लागेको अर्का एक सीइओले बताए।
‘जुन बैंकले साउनको ब्याज आम्दानीलाई असार देखाए उनीहरुलाई असोजमा ब्यालेन्सिट राम्रो बनाउन ठूलै चुनौती छ,’ उनले भने,’त्यसकारण हामी ठूलो टिम असुलीमा केन्द्रित भएका छौं। पुरानो असुली थोरै सुधार हुन थाले पनि अपेक्षाजनक भने छैन।’
निक्षेपको ब्याजदर घटेर लागत कम भई ब्याज खर्चले गर्दा केही राहत भइरहेको उनको भनाई छ।
ब्याज खर्च घटेका कारण सम्रगमा पोहोरको तुलनामा नाफा राम्रो हुने उनको भनाइ छ। स्टान्डर्ड चार्टर्ड बैंकको कष्ट अफ फण्ड साढे २ प्रतिशत छ।
एनआईसी एसिया बैंकका सीइओ सुजित शाक्य रिकभरी पोहोरको तुलनामा केही सुधार भएको बताउँछन्। उनका अनुसार नयाँ बिग्रिने सम्भावना नभएको र पुरानो असुली ठिकठाकै छ।
अधिक तरलता कारण ब्याजदर न्यून विन्दुमा झरेपछि बैंकहरु हाइड्रो परियोजनामा कर्जा लगानी भइरहेका छन्। साथै, अटो र घर कर्जाका स्थिर ब्याजदरले लगानी भइरहेको छ। जलविद्युत् परियोजनामा कर्जाको माग र अटो तथा घर कर्जामा स्थिर ब्याजदरका योजनाले लगानीलाई केही टेवा दिएका छन्।









