काठमाडौं। शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि ७ सय ८८ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार अनुमति लिनेमा ९१ वटा टोली छन्।
३१ हिमाल आरोहणका लागि ५८२ पुरुष र २०६ महिलाले आरोहण अनुमति लिएको विभागका सूचना अधिकारी सुरज घिमिरेले बताए। आरोहण अनुमतिबाट विभागले २४ करोड ७२ लाख ७ हजार ६०१ रुपैयाँ रोयल्टी संकलन गरेको छ। आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) छ।
मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन्। जसबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी उठाएको छ। धौलागिरि-१ आरोहणका लागि पाँच टोलीका ३६ जनाले आरोहण अनुमति लिएका छन्, जसबाट ८२ लाख ४२ हजार ५० रुपेयाँ रोयल्टी उठेको छ।
यस्तै, हिम्लुङ हिमालका लागि तीन टोलीका ३४ आरोहीले अनुमति लिएका छन्। यसमा २० लाख ८७ हजार ८०० रोयल्टी संकलन भएको छ। आमादब्लम हिमाल आरोहणका लागि दुई टोलीका १९ जनाले आरोहण अनुमति लिँदा विभागले २९ लाख १२ हजार राजस्व संकलन गरेको छ।
यसैगरी, पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गंगापूर्ण पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण-४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ। उक्त हिमाल आरोहण गर्नका लागि ७० देशका ७८८ आरोहीले आरोहण अनुमति लिएका छन्।
आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका ११८ जना छन्। यसबाहेक रसियाका ६५, फ्रान्सका ६०, अमेरिकाका ५२, बेलायतका ४५, पोल्याण्डका २५, नेपालका २३, स्वीजरल्याण्डका १६, स्पेनका १६, भारतका १८, इटलीका २३, जापानका २५ जनाले अनुमति लिएका छन्।
विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट १६ लाख २७ हजार ६५९ अमेरिकी डलर अर्थात् २४ करोड ७२ लाख सात हजार ६०१ नेरु रोयल्टी संकलन गरेको छ।







