बेनी-जोमसोम-कोरला सडक २६ गतेसम्म सञ्चालनमा ल्याइने, पोखरेबगरमा धमाधम माटो भरिंदै

बिजमाण्डू
२०८३ असोज २१ गते ११:५६ | Oct 7, 2026
बेनी-जोमसोम-कोरला सडक २६ गतेसम्म सञ्चालनमा ल्याइने, पोखरेबगरमा धमाधम माटो भरिंदै


काठमाडौं। बेनी-जोमसोम-कोरला सडकमा सोमबारसम्म सवारीसाधन सञ्चालनको तयारी गरिएको छ।

GBIME
Tata

असोज ८-११ मा परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिपछि मर्मत कार्यलाई तीव्रता दिएर २६ गतेसम्म बेनी-जोमसोम-कोरला सडकमा सवारीसाधन सञ्चालनको तयारी गरिएको हो।

बेनी-जोमसोम-कोरला सडक खण्डका विभिन्न ५० भन्दा बढी स्थानमा खसेको पहिरो हटाउने काम सकिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा कालीगण्डकी नदीले बगाएको पुलको पहुँच सडक बनाउने काम भइरहेको छ।

पोखरेबगरमा ग्याबियन टो-वाल निर्माण गरी माटो भर्ने काम भइरहेको तथा रघुगङ्गा गाउँपालिका-२ कुनौटामा एक्साभेटर प्रयोग गरी ट्र्याक खोल्ने कार्य जारी रहेको सडक विभागका अधिकारीहरुले बताएका छन्।

यो काम सकेर २६ गतेसम्म सवारीसाधन सञ्चालन गर्ने तयारी रहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन्।