काठमाडौं। गोल्डेन ओक र ब्ल्याक ओक उत्पादन गर्ने कम्पनी हिमालयन डिस्टिलरीको नाफा १६.३६ प्रतिशतले बढेको छ। कम्पनीले शुक्रबार चालु वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ४६ करोड २७ लाख रुपैयाँ नाघेको जनाएको हो।
अघिल्लो वर्षको पुसमा कम्पनीको नाफा ३९ करोड ७६ लाख रुपैयाँ थियो। कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी नै २२ प्रतिशतले बढेको छ। जबकी कच्चा पदार्थ खरिदमा लाग्ने खर्च ९ प्रतिशतले घटेको छ।
उत्पादन बिक्रीबाट हुने आम्दानी २ अर्ब ९८ करोड ७२ लाख रुपैयाँ नाघेको छ। खर्च भने ५० करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि आम्दानी वृद्धिसँगै सरकारलाई बुझाउनु पर्ने अन्त:शुल्क लगायतको खर्च भने बढेको छ।
कम्पनीको उत्पादनहरु बजारसम्म पुर्याउँदा लाग्ने खर्च करिब १४ प्रतिशतले बढेको छ। यो खर्च २० करोड ८७ लाख रुपैयाँ पुगेको छ। कम्पनीले चाँडै ब्लु ओक पनि उत्पादन गर्ने जनाएको छ।











