काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिइएको छ।
पर्सा जिल्ला अदालतका न्यायाधीश देवीकुमार चौधरीको इजलासले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको हो। उनी मंगलबार अदालतमा हाजिर भएका थिए।
उनी विरुद्ध ८९ लाख रुपैयाँ ठगी तथा आपराधिक विश्वासघातमा पर्सा अदालतमा असोजको पहिलो साता मुद्दा दायर भएको थियो।
वीरगंज महानगरपालिकास्थित अञ्जली इन्टरनेसनलकी प्रोप्राइटर निर्मला देवीले शर्मा लक्ष्मी सनराइज बैंकको तत्कालीन प्रमुख हुँदा ऋण लिएकी थिइन्। तर, प्रतिवद्धता अनुसार ऋण नपाएको भन्दै मुद्दा हालेकी हुन्। शर्माले अदालतमा आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताएका छन्।
‘मैले जाहेरीवालालाई चिनेको छैन। कर्जा लिनेदिने विषयमा सहभागी भएको छैन,’ उनले अदालतमा भनेका थिए, ‘कर्जा दिँदा धितो राखिएको भनिएको जग्गाको विषयमा कुनै निर्णय गरेको छैन।’









