पाकिस्तानको वस्तु निर्यात सेप्टेम्बरमा तीव्र रूपमा बढेको छ। पाकिस्तानको तथ्यांक विभाग (पीबीएस)का अनुसार सेप्टेम्बरमा निर्यात गत वर्षको सोही महिनाको तुलनामा १७.६ प्रतिशतले बढेर दुई अर्ब ९४ करोड अमेरिकी डलर पुगेको छ। अगस्टको दुई अर्ब ५३ करोड डलरको तुलनामा पनि सेप्टेम्बरको निर्यात १६.१ प्रतिशतले बढी हो।
पाकिस्तानका द न्यूज र बिजनेस रेकर्डरलगायत सञ्चारमाध्यमले पीबीएसको प्रारम्भिक तथ्यांक उद्धृत गर्दै सेप्टेम्बरमा निर्यात वृद्धि भए पनि आयात अझ तीव्र गतिमा बढेकाले व्यापार घाटा घट्न नसकेको जनाएका छन्। सेप्टेम्बरमा आयात ११.१ प्रतिशतले बढेर छ अर्ब ४९ करोड डलर पुगेको छ।
फलस्वरूप मासिक व्यापार घाटा तीन अर्ब ५६ करोड डलर पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ६.२ प्रतिशत बढी हो।
निर्यात वृद्धिमा पाकिस्तानको प्रमुख निर्यात क्षेत्र टेक्सटाइल तथा गार्मेन्टको सुधार र खाद्य वस्तुको निर्यात विस्तारले आधार दिएको देखिन्छ। आर्थिक वर्ष २०२६/२७ को पहिलो दुई महिनामै टेक्सटाइल निर्यात ५.५५ प्रतिशतले बढेर तीन अर्ब ३८ करोड डलर पुगेको थियो। सो अवधिमा तयारी पोसाकको निर्यात १३.५९ प्रतिशत र कपासको धागोको निर्यात ३४.८ प्रतिशत बढेको थियो।
त्यस्तै, चामल निर्यातमा पनि उल्लेख्य वृद्धि भएको छ। जुलाई–अगस्टमा पाकिस्तानले ६ लाख ५८ हजार ६१० मेट्रिक टन चामल निर्यात गरी ३९ करोड १७ लाख डलर आम्दानी गरेको थियो, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा २४.६८ प्रतिशत बढी हो। बासमती चामलको निर्यात मूल्य ५३ प्रतिशतभन्दा बढी बढेको थियो।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पाकिस्तानको कुल निर्यात १०.८ प्रतिशतले बढेर आठ अर्ब ४२ करोड डलर पुगेको छ। तर यही अवधिमा आयात १३.२ प्रतिशतले बढेर १९ अर्ब २२ करोड डलर पुगेपछि व्यापार घाटा १५.१ प्रतिशतले बढेर १० अर्ब ७९ करोड डलर पुगेको छ।











