काठमाडौं। सरकारले सुरक्षा निकायलाई पनि खाना पकाउने एलपी ग्यास बिक्रीको अनुमति दिने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि ग्यास बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको दिएका छन्।
उनले शुक्रबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ग्यास अभावको समस्यालाई समाधान गर्न सुरक्षा निकायलाई पनि बिक्रीको अनुमति दिन लागेको जानकारी दिएका हुन्।
‘सुरक्षा निकायको आउटलेटबाट पनि ग्यास वितरण गर्न सकेको खण्डमा धेरै सहज हुनेछ,’ उनले भने।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अहिले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएका छन्। पेट्रोल बेच्ने सुरक्षा निकायसँग ग्यासको पनि कम्तीमा एक दुईवटा आउटलेट भएदेखि राज्यलाई आपत् पर्दा सहज हुन्छ। त्यसैले अनुमति दिने तयारी भएको छ,’ तामाङले भने।
समितिले ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’बारे जानकारी लिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र सचिव तामाङलाई बोलाएको थियो।











