काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कर्मचारीको कामप्रति असन्तुष्टि जनाएका छन्।
उनले बुधबार मन्त्रालयमा भएको समिक्षा बैठकमा चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना बितिसक्दा पनि मन्त्रालयको वित्तीय प्रगति न्यून रहेको भन्दै असन्तुष्टि जनाएका हुन्। मन्त्रालयको वित्तीय प्रगति ३.०८ प्रतिशत छ।
मन्त्री श्रेष्ठले आर्थिक वर्षको अन्तिम समयमा मात्रै बजेट खर्च गर्ने परम्परागत शैली अन्त्यका लागि सुरुदेखि नै योजनाबद्ध रूपमा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताएको उनको सचिवालयले जनाएको छ।
मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनका लागि स्पष्ट कार्यतालिका बनाउन र निर्धारित समयमै ठेक्का आह्वान तथा सम्झौता गरी आयोजना कार्यान्वयन गर्न भनेका छन्।
‘व्यक्तिले होइन, प्रणालीले काम गर्ने वातावरण बनाउनुपर्छ,’ श्रेष्ठले भने, ‘निर्णय गरेर मात्रै पुग्दैन, त्यसको प्रभावकारी कार्यान्वयनमा समेत मन्त्रालय र मातहतका निकायको ध्यान जानुपर्छ।’
उनले कर्मचारीहरुलाई जिम्मेवारी र दायित्व समयमा पूरा नगर्नु पनि जवाफदेहिताको विषय भएको भन्दै जनताप्रति उत्तरदायी हुन भनेका छन्।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका नयाँ सचिव डा. जगदीश्वर कर्माचार्यले आयोजना कार्यान्वयनमा मन्त्रालयको पूरै संयन्त्र परिचालन हुनुपर्ने बताए। कर्माचार्य मंगलबार मात्र सचिवमा बढुवा भएका हुन्।











