नेपाल टेलिकमले १५९७ स्थानमा फोरजी सेवा विस्तार गर्दै, मन्त्रीले संसद्‍मा भने- टेण्डर यसै साता

बिजमाण्डू
२०८३ असोज १४ गते १६:२८ | Sep 30, 2026
नेपाल टेलिकमले १५९७ स्थानमा फोरजी सेवा विस्तार गर्दै, मन्त्रीले संसद्‍मा भने- टेण्डर यसै साता
डा. विक्रम तिमिल्सिना


काठमाडौं। नेपाल टेलिकमले मोबाइल नेटवर्कमा देखिएको समस्या समाधान गर्न देशभर थप १५९७ स्थानमा फोरजी सेवा सञ्चालन गर्ने भएको छ। यसका लागि टेलिकमले यसै साता टेण्डर आह्वान गर्न लागेको छ।

Vigo
GBIME
Tata

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रतिनिधि सभाको बैठकमा विभिन्न समयमा उठेका प्रश्नको बुधबार जवाफ दिने क्रममा यो जानकारी दिएका हुन्।

उनका अनुसार मोबाइल सेवाको गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि नयाँ २०० वटा टावर निर्माणसम्बन्धी बोलपत्र मूल्यांकनको चरणमा छ।

मन्त्री तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सरकारले सेवा विस्तार, उपकरण थप तथा विद्युत् आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिएको बताए।

उनका अनुसार विद्युत् अवरुद्ध हुँदा मोबाइल सेवा सञ्चालनमा समस्या नहोस् भन्ने उद्देश्यले देशभर नेपाल टेलिकमका टावरमा पावर ब्याकअपको क्षमता बढाउने काम भइरहेको छ। पछिल्लो तीन महिनामा सातै प्रदेशका ६०० भन्दा बढी स्थानमा ब्याट्री ब्याकअप फेरिएको छ।

मन्त्री तिमिल्सिनाले टेलिकमसँग हाल करिब ५०० वटा ब्याट्री मौज्दात रहेको र आवश्यक स्थानमा आगामी तीन महिनाभित्र ब्याकअप अद्यावधिक गरिसक्ने तथा थप २०० थान ब्याट्री खरिदको प्रक्रिया अगाडी बढाइएको जानकारी दिए।

बाढीबाट टेलिकमलाई ८ करोड ८५ लाखको क्षति

सञ्चारमन्त्रीका अनुसार भोटेकोशी बाढीका कारण नेपाल टेलिकमको मोबाइल, वायरलाइन तथा ब्याकबोन प्रसारण प्रणालीमा ८ करोड ८५ लाख १२ हजार ६८५ रुपैयाँ बराबरको क्षति भएको छ।

रसुवा, नुवाकोट र धादिङमा रहेका १२० साइटमध्ये ८३ साइटको सेवा बाढीका कारण अवरुद्ध भएको थियो। तीमध्ये त्रिशूली–३ ‘बी’, चिलिमे खोला र टिमुरेका तीन साइट पूर्णरूपमा क्षतिग्रस्त भएका थिए। पूर्णरूपमा क्षतिग्रस्त ती तीन साइटबाहेक अन्य अवरुद्ध सेवा टेलिकमले पुनः सञ्चालनमा ल्याइसकेको छ।

तत्काल पुनर्स्थापना गर्न नसकिएका तीन साइटमा टेलिकमले वैकल्पिक टावर स्थापना गरी मोबाइल नेटवर्कको पहुँच कायम गरेको छ।

रसुवा, नुवाकोट र धादिङमा कुल ६५.३ किलोमिटर फाइबर नेटवर्कमध्ये ३७.९ किलोमिटर बाढीबाट क्षतिग्रस्त भएकामा २७.४ किलोमिटर मर्मत भइसकेको मन्त्री तिमिल्सिनाले जानकारी दिए।