काठमाडौं। बेसीशहर-चामे सडक सञ्चालनमा आएको छ। चामेको रामबजारस्थित पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको हो।
तिमाङदेखि कोतोसम्मका विभिन्न स्थानमा पहिरो हटाउने कार्य भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। असोज ८-११ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोले बेसीशहर-चामे सडक खण्ड अवरुद्ध हुन पुगेको थियो।
मन्त्रालयका अनुसार फापरखेतमा स्थानीयको जग्गा कटिङ गर्नुपर्ने र क्षतिपूर्तिको विषयमा देखिएको समस्या पालिका तथा जिल्ला प्रशासनसँगको समन्वयमा समाधान गरिएको छ।
खोत्रोमा पूर्णरूपमा क्षति भएको सडकखण्डमा पछाडिबाट कटिङ गरी टेवा पर्खाल लगाएर गरेर बुधबार साँझसम्म यातायात सञ्चालन गर्ने तयारी छ। खोत्रो नजिकैको भीरमा नेपाली सेनासँगको समन्वयमा ब्लास्टिङको तयारी गरिएको मन्त्रालयले जनाएको छ।
गरछापमा लेदो तथा पहिरो हटाउने काम भइरहेको छ।











