काठमाडौं। अर्थ मन्त्रालयले पुँजी बजार सरकारको प्राथमिकतामा रहेको बताएको छ।
अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले बुधबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा पुँजी बजार सुदृढीकरण गर्ने विषयमा सरकारले कुनै आनाकानी नगर्ने बताए।
‘पुँजी बजार सुदृढीकरण गर्ने विषयमा सरकारको कुनै आनाकानी छैन, सरकारको प्राथमिकतामा छ,’ उनले भने, ‘सरकारको प्राथमिकतामा पुँजी बजार मात्रै होइन, समग्र अर्थतन्त्र नै छ।’
उनले नेप्सेको पुनर्संरचनाका लागि काम सुरु भइसकेको बताए। ‘नेप्सेको सिस्टमलाई अझ दरिलो कसरी बनाउने भन्ने विषयमा पनि काम सुरु भइसकेको छ, त्यो मन्त्रालयले नै पहलकदमी लिएर सुरु भएको छ,’ उनले भने, ‘सीडीएससीको पनि प्रबन्धपत्र, नियमावली भर्खरै धितोपत्रबाट बोर्डबाट स्वीकृत भएको छ। त्यो अनुसारको थप काम अगाडि बढ्छ।’
बैठकमा लगानीकर्ताका प्रतिनिधिले मन्त्रालयमाथि स्वार्थ समूहको हितमा काम गरको आरोप लगाएकामा सहसचिव आचार्यले त्यो स्वार्थ समूहबारे स्पष्ट पार्न चुनौती दिए।
‘केही साथीहरुले अर्थ मन्त्रालयले सीमित स्वार्थ समूहको हित हेर्यो भन्नुभएको छ, थाहा छैन कसको स्वार्थमा काम गरेको भन्न खोजेको हो। अर्थ मन्त्रालयले, सरकारले हेर्ने स्वार्थ समूह भनेको नेपाली जनता, आम नागरिक हो। मुलुकको समृद्धि हो। त्योभन्दा बाहेक सरकारले हेरेको छैन,’ उनले भने, ‘कुन चाहिँ स्वार्थ समूहको हो भन्ने कुरा ठ्याक्कै नभनेर होलसेलमा कुराकानी गरेपछि अप्ठ्यारो हुन्छ। हामीले मार्केट प्रिन्सिपलभन्दा बाहिर जाने गरी कुराकानी पनि गर्नु हुँदैन।











