सबै ‘इन्स्ट्रुमेन्ट’ संचालन गर्न सक्षम छौं, प्राविधिक र नियमन प्रणाली सुदृढ गर्दैछौं : लीलाधर सुवेदी

बिजमाण्डू
२०८३ असोज १४ गते ११:३३ | Sep 30, 2026
सबै ‘इन्स्ट्रुमेन्ट’ संचालन गर्न सक्षम छौं, प्राविधिक र नियमन प्रणाली सुदृढ गर्दैछौं : लीलाधर सुवेदी


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले हाल विद्यमान नियम तथा विनियमले दिएका सम्पूर्ण वित्तीय ‘इन्स्ट्रुमेन्ट’ कारोबार गराउन नेप्से पूर्ण रूपमा सक्षम रहेको बताएका छन्।

Vigo
GBIME
Tata

आज अर्थ समितिमा उनले नयाँ नीति तथा इन्स्ट्रुमेन्ट ल्याउने मुख्य काम धितोपत्र बोर्ड (सेबोन) र अर्थ मन्त्रालयको भएको स्पष्ट उनले बताएका हुन्।

‘नियमनकारी निकायले बनाएका नीति कार्यान्वयन गर्न नेप्से सधैँ तयार छ,’ उनले भने।

सुवेदीका अनुसार हाल नेप्सेमा इक्विटी, म्युचुअल फन्ड, डिबेन्चर, ओटीसी मार्केटका साथै पछिल्लो समय मार्जिन ट्रेडिङ र लगानीकर्ताको माग बमोजिम ‘आफ्टर मार्केट अर्डर’ सुविधासमेत सञ्चालनमा आइसकेको छ।

उनले अनलाइन ट्रेडिङ सिस्टम, यसको स्रोत कोड र सम्पूर्ण संचालनको पूर्ण स्वामित्व नेप्सेसँगै रहेको बताए। यो प्रणाली सार्वजनिक खरिद ऐन अनुसार बिडिङ प्रक्रियाबाट मेन्टेनेन्स भइरहेको उनले जानकारी दिँदै भने, ‘ब्रोकरहरूलाई टीमएमएस कनेक्ट गर्न लगइन/पासवर्ड दिइने भएकाले त्यसको संचालनको जिम्मा भने सम्बन्धित ब्रोकरकै हुनेछ।’

नेप्सेले नियमित रूपमा अनसाइट र अफसाइट अनुगमन गरी प्रत्येक त्रैमासमा सेबोनलाई प्रतिवेदन बुझाउने गरेको उनले जानकारी दिए।

‘लगानीकर्तालाई सोझै कारबाही गर्ने अधिकार नेप्सेसँग नभएकाले शङ्कास्पद विवरण सेबोनमा पठाइन्छ। बजार अनुगमनलाई थप प्रभावकारी बनाउन एआई प्रयोगबारे अध्ययन भइरहेको छ,’ उनले भने।

धितोपत्र बोर्ड र अर्थ मन्त्रालयको निर्देशन अनुसार आउँदो मंसिर मसान्तभित्र ‘फ्लोट सेयर’का आधारमा इन्डेक्स गणना र बेन्चमार्किङ गर्ने काम सम्पन्न गरिने उनले बैठकमा बताए।

गत असोज ५ गते भएको कारोबार अवरोध नेप्से वा एनओटीएस प्रणालीको समस्या नभएको उनले जानकारी गराएका थिए।

‘ब्रोकरको डेटा सेन्टरमा आएको प्राविधिक समस्याका कारण भएको हो,’ सुवेदीले भने, ‘आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन ब्रोकरहरूसँग समन्वय भइरहेको र लगानीकर्ताको डेटा सुरक्षामा कुनै सम्झौता गरिनेछैन।’

त्यस्तै, उनले प्राविधिक प्रणाली र सर्भिलेन्सलाई थप सुदृढ बनाउन आवश्यक आईटी जनशक्ति थप्ने उद्देश्यले नेप्सेले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिरहेको पनि बताए।