पुँजी बजारका समस्या समाधान गर्न तत्काल सेक्युरिटिज कमिसन गठन गर्न अध्यक्ष केसीको माग

बिजमाण्डू
२०८३ असोज १४ गते १०:३५ | Sep 30, 2026
पुँजी बजारका समस्या समाधान गर्न तत्काल सेक्युरिटिज कमिसन गठन गर्न अध्यक्ष केसीको माग


काठमाडौं। नेपाल सेयर बजार लगानीकर्ता संघका अध्यक्ष हरिबहादुर केसीले पुँजी बजारका नीतिगत निर्णय र कारोबार प्रणाली सञ्चालनमा पारदर्शिता तथा सरकारी नियन्त्रण आवश्यक रहेको बताएका छन्।

Vigo
GBIME
Tata

संसद्को अर्थ समिति बैठकमा बुधबार उनले धितोपत्र बजारसम्बन्धी नियम तथा निर्णय पारदर्शी ढंगले सार्वजनिक हुनुपर्नेमा नेपालमा कतिपय व्यवस्था आन्तरिक रूपमै गर्ने प्रवृत्ति रहेको बताए। ‘सबै देशमा धितोपत्रसम्बन्धी नियम राजपत्रमा प्रकाशन हुन्छ। हाम्रोमा किन हुँदैन? यहाँ भित्रभित्रै गरिन्छ,’ उनले भने।

निजी क्षेत्रको काम छिटो हुने तर सरकारी निकायका काममा ढिलाइ हुने प्रवृत्तिले पुँजी बजार प्रभावित भएको उनले बताए। कारोबार प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले नै त्यसको जिम्मेवारी लिनुपर्ने उनको धारणा छ। ‘कारोबार प्रणाली सरकारले किन आफ्नो मातहत लिन सक्दैन? मैले यो प्रणाली सिंहदरबारभित्रै राख्नुस् भनेको थिएँ। यो प्रणालीलाई सुरक्षित राख्न के तयारी छ?,’ उनले प्रश्न गरे।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचना प्रविधि प्रणालीमा समेत पर्याप्त सरकारी निगरानी र विज्ञ जनशक्ति आवश्यक रहेको उनले बताए। नेप्सेले सूचना प्रविधि विज्ञलाई प्रत्यक्ष जिम्मेवारी दिनुको सट्टा प्रणाली व्यवस्थापनमा आउटसोर्सिङमा भर परेको उनको भनाइ थियो। ‘नेप्सेमा आईटी विज्ञलाई काम दिएको छैन, आउटसोर्सिङ गरिएको छ,’ उनले भने।

पुँजी बजारमा समस्या धेरै भए पनि सरकारले बेलाबेला कुनै–कुनै समस्या समाधान गर्ने प्रयास मात्र गर्दै आएको उनले बताए। बजारका समस्या पहिचान गरी तत्काल समाधानका लागि छुट्टै संस्थागत संयन्त्र आवश्यक रहेको उनको भनाइ थियो। ‘पुँजी बजारमा अनगिन्ती समस्या छन्। बेला-बेलामा सरकारले कुनै–कुनै समस्या समाधान गर्न खोजेको छ। तत्काल सेक्युरिटिज कमिसन गठन गर्नुपर्छ,’ उनले भने।