ब्रोकर कम्पनीलाई ४ समूहमा वर्गीकरण, सेबोनले ल्यायो धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति

बिजमाण्डू
२०८३ असोज १३ गते १८:२४ | Sep 29, 2026
ब्रोकर कम्पनीलाई ४ समूहमा वर्गीकरण, सेबोनले ल्यायो धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति


काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले धितोपत्र दलाल व्यवसायीलाई पुँजी, जोखिम बहन क्षमता, सेवा विविधीकरण र संस्थागत क्षमताका आधारमा चार श्रेणीमा वर्गीकरण गरेको छ। सेबोनले धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३ कार्यान्वयनमा ल्याउँदै वर्गीकरण गरेको हो।

Vigo
GBIME
Tata

श्रेणी ‘क’ मा धितोपत्र व्यापारी (स्टक डिलर), ‘ख’ मा पूर्ण सेवा धितोपत्र दलाल (फूल सर्भिस स्टक ब्रोकर), ‘ग’ मा कारोबारमुखी धितोपत्र दलाल (ट्रेडिङ स्टक ब्रोकर) र ‘घ’ मा विशिष्टीकृत धितोपत्र दलाल (स्पेसलाइज्ड स्टक ब्रोकर) रहने प्रस्ताव गरिएको छ।

नीतिले मार्जिन कारोबार, धितोपत्र सापटी तथा उधारो, सर्ट सेलिङ, अन्तरदिवसीय कारोबार तथा बजार निर्माता जस्ता गतिविधिका लागि छुट्टाछुट्टै स्वीकृति आवश्यक हुने व्यवस्था गरेको छ। त्यस्तै, ग्राहक गुनासो व्यवस्थापन, लगानीकर्ता क्षतिपूर्ति कोष तथा ग्राहकलाई दैनिक वा वास्तविक समयको विवरण उपलब्ध गराउने, संकटग्रस्त धितोपत्र दलाल व्यवसायीको रिसोलुसनको व्यवस्थालाई समेत नीतिमा समेटेको छ।

ब्रोकरको न्यूनतम चुक्ता पुँजीसँगै जोखिममा आधारित पुँजी पर्याप्तता कायम गर्नुपर्ने व्यवस्था नीतिले गरेको छ। प्रविधि र साइबर सुरक्षातर्फ डिजिटल केवाईसी, मल्टी-फ्याक्टर अथेन्टिकेसन, अर्डर तथा जोखिम व्यवस्थापन प्रणाली, साइबर सुरक्षा संरचना, नियमित आईटी अडिट र पेनिट्रेसन टेस्टिङलाई अनिवार्य बनाउने प्रस्ताव गरिएको छ।

यसैगरी, दलाल व्यवसायमा मर्जर, प्राप्ति तथा व्यावसायिक एकीकरणलाई सहजीकरण गर्ने नीति लिइएको छ। विद्यमान दलाल व्यवसायीलाई नयाँ मापदण्डमा ल्याउन संक्रमणकालीन अवधि दिई ग्याप एसेसमेन्ट, कम्पलायन्स प्लान, पुँजी तथा प्रविधि स्तरोन्नति र पुनःवर्गीकरणको प्रक्रिया अघि बढाइने उल्लेख छ।

धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति तीन चरणमा गर्ने सेबोनले जनाएको छ। सेबोनका अनुसार संस्थागत सुदृढीकरण, बजार सेवा विस्तार र एकीकृत धितोपत्र मध्यस्थता प्रणालीको विकास अनुसार क्रमशः कार्यान्वयन गरिनेछ।