अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने रक्सीमा प्रतिबन्ध लगाएका छन्।
यो प्रतिबन्धले अमेरिका र क्यानडाबीचको रक्सी व्यापारलाई प्रत्यक्ष असर पार्नेछ। गत वर्ष अमेरिकाले क्यानाडाबाट करिब ८० करोड डलर बराबरको रक्सी आयात गरेको थियो।
ट्रम्पले क्यानाडाका धेरै सामानहरुमा कर लगाएपछि त्यहाँका केही प्रान्तहरुले अमेरिकी रक्सीमा रोक लगाएको थियो। त्यसको जवाफमा ट्रम्पले सन् १९३० को ‘स्मूट–हाउली ट्यारिफ एक्ट’ प्रयोग गर्दै यो कदम चालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।
४ लिटरभन्दा ठूला कन्टेनरमा आयात गरिने ‘ह्विस्की’ र ‘लिकर’लाई भने यो प्रतिबन्ध र भन्सार शुल्कबाट छुट दिइएको जनाइएको छ।
क्यानाडाको रक्सी उद्योग मुख्यतया अमेरिकी बजारमा निर्भर रहेको बताइन्छ। यो निर्णयले क्यानेडियन उत्पादनकर्ताहरुलाई ठूलो घाटा पुग्ने देखिन्छ।
यससँगै अमेरिकामा पनि रक्सीको आयात र बिक्रीमा अन्योल सिर्जना भएको बताइएको छ। यद्यपि, अमेरिकी व्यवसायीहरुले यसअघि नै ठूलो संख्यामा रक्सी आयात गरेर स्टक राखेको पनि बताइएको छ।
रक्सीसँगै क्यानाडाका दुग्धजन्य पदार्थ र मोटरसाइकल आयातमा पनि अमेरिकाले प्रतिबन्ध लगाएको छ।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँगको व्यापारिक तनावबीच ट्रम्पले क्यानाडा चाँडै नै सम्झौताका लागि अमेरिका आउने विश्वास व्यक्त गरेका छन्।











