नवलपुर। आइतबार साँझ नारायणी नदीको बाढीले बगाएर ल्याएको ‘राइनो क्रुज’ अड्किएकाले निकाल्न गाह्रो भइरहेको छ। आइतबारदेखि नै प्रयास गरिए पनि अझै निकाल्न सकिएको छैन।
पुलको पिल्लरमा क्रुज अड्किएपछि जोखिम हुने भन्दै क्रुजलाई निकाल्ने कोसिस गरिएको नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए। सोमबार दिनभरि क्रेनको सहायताले क्रुज निकाल्ने कोसिस गरिए पनि क्रेनको डोरी चुँडिएपछि अहिले काम स्थगित गरिएको उनले जनाए।
“आज पनि दिनभर दुई वटा क्रेन र एउटा एक्साभेटरको प्रयोग गरेर क्रुज तान्ने काम गर्यौँ”, उनले भने, “क्रुज अड्किएको पिल्लरबाट केही माथि (उत्तर) तिर तानेपछि डोरी चुँडिदा काम स्थगित गरिएको छ।”
क्रुज तान्न चितवनको कुरिनटारमा निर्माणाधीन बुढीगण्डकी हाइड्रोप्रोजेक्टको ८० टन क्षमताको क्रेन, नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको क्रेन तथा एउटा एक्साभेटर प्रयोग गरिएको रानाले जानकारी दिए।
क्रुज तान्ने क्रममा पुलमाथिबाट सञ्चालन हुने सवारीसाधन आवागमनलाई पूर्ण रूपमा रोक लगाइएको थियो।

यसैबीच, नारायणी नदीमा गत वर्षदेखि व्यावसायिक प्रयोजनका लागि चलाइएको राइनो क्रुज बाढीले बगाएपछि सुरक्षित रूपमा पार्किङ नगरिएकामा चिन्ता व्यक्त गरिएको छ।
नदीमा राखिएको नेपालकै एक मात्र र ठूलो क्रुज आपत्कालीन व्यवस्थापनबारे सञ्चालकले गरेको तयारीका विषयमा पनि स्थानीय प्रशासनले प्रश्न उठाएको छ। क्रुज सञ्चालन गर्ने संस्थाले प्रभावकारी रूपमा पार्किङ नगर्दा बाढी क्रुज बगाएको हुनसक्ने चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
राइनो क्रुजका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजलाई नारायणी नदीमा पार्किङ गर्दा अन्तरराष्ट्रिय मापदण्डअनुसार बाँधेर राखिएको थियो। सुरक्षाका लागि क्रुजलाई २० एमएमको दुई वटा ‘टुचेन’ डोरीहरू तथा अन्तरराष्ट्रिय अभ्यास अनुसारका बाँधिएको उनले दाबी गरे।
यद्यपि, प्राकृतिक विपत्तिका कारण नारायणी नदीमा आएको पानीको ठूलो बहावलाई थेग्न नसकेर क्रुज बगेको उनको भनाइ छ।
प्रबन्ध निर्देशक ढुङ्गेलका अनुसार क्रुजको तौल ६० टन छ। नदीमा अड्किएको क्रुज ९५ फिट लामो र २१ फिट चौडा भएकाले यसमा प्रयोग गरिएका फलाम काटेर निकाल्न पनि समस्या हुने उनले बताए। उनले आफूहरू यसका प्रवर्द्धक मात्र भएकाले यस्तो प्राकृतिक विपद्को समयमा राज्यले पनि सहयोग गर्नुपर्ने बताए।
आइतबार रातिदेखि पुलमा अड्किएको क्रुज निकाल्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवनका प्रमुख जिल्ला अधिकारी तथा तीन वटै सुरक्षा अङ्गका प्रतिनिधि घटनास्थलमा खटिएका छन्। रासस










