भोटेकोशी बाढीले प्राधिकरणलाई ७४ अर्बको क्षति, सुक्खायाममा ११५४ मेगावाट भारतबाट ल्याउने

जनक वली
२०८३ असोज १२ गते १५:२२ | Sep 28, 2026
भोटेकोशी बाढीले प्राधिकरणलाई ७४ अर्बको क्षति, सुक्खायाममा ११५४ मेगावाट भारतबाट ल्याउने


काठमाडौं। भोटेकोशी नदीको बाढीका कारण नेपाल विद्युत प्राधिकरणलाई करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ।

Vigo
GBIME
Tata

प्राधिकरणले विभिन्न जलविद्युत आयोजना र माथिल्लो त्रिशूली थ्री बी हब बाढीले ध्वस्त हुँदा ७४ अर्ब रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको हो।

बाढीका कारण प्राधिकरणका ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’, २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र १४.१ मेगावाटको देवीघाट जलविद्युत् आयोजना ध्वस्त भएका छन्।

यसबाहेक प्राधिकरणका सहायक कम्पनीले बनाएका १११ मेगावाट क्षमताको रसुवागढी र २२ मेगावाटको चिलिमे जलविद्युत आयोजना पनि बाढीमा परेका छन्।

भोटेकोशी र त्रिशूली नदीको बाढीले ४३० मेगावाट बिजुली प्रणाली बाहिर जाँदा आफू र आफ्ना सहायक कम्पनीलाई ७४ अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्राधिकरणले बताएको छ।

‘भदौ १० गतेको भोटेकोशी र त्रिशूली नदीमा बाढीले माथिल्लो त्रिशुली ३ बी २२० केभी हबमा पुगेको क्षतिका कारण र विभिन्न जलविद्युत केन्द्रमा पुगेको क्षतिका कारण विद्युत उत्पादन हुन नसकेका कारण कुल ४३० मेगावाट विद्युत प्रणालीबाट बाहिर छन्। यो क्षेत्रमा प्राधिकरण र सहायक कम्पनीहरुको अनुमानित ७४ अर्ब क्षति पुगेको प्रारम्भिक अनुमान छ,’ प्राधिकरणले भनेको छ।

प्राधिकरणले सुक्खायामको विद्युत माग धान्नका लागि भारतबाट ११५४ मेगावाट आयात गर्ने योजना बनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सुक्खायाममा आन्तरिक उत्पादनबाट १२१८ मेगावाट उपलब्ध हुने र अपुग हुने ११५४ मेगावाट भारतबाट आयात गर्ने योजना बनाएको जानकारी दिए।

दीर्घायु कुमार श्रेष्ठ

‘माग-आपूर्ति सन्तुलनका लागि ढल्केवर-मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर-महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसीको माध्यमबाट १५० मेगावाट गरी कुल ११५४ मेगावाट विभिन्न प्रकृयाबाट आयात गरिने योजना छ,’ उनले भने।

पोहोर सुक्खायामको उच्चतम राष्ट्रिय विद्युत माग २२९२ मेगावाट रहेकामा यसपालि २३७२ मेगावाट उपलब्ध हुने प्राधिकरणले बताएको छ।