काठमाडौं। आफ्ना अभिव्यक्ति र गतिविधिका कारण पटक-पटक पक्राउ पर्दै अदालती आदेशमा छुट्दै गरेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।
प्रहरीको साइबर ब्युरोको टोलीले सोमबार बिहान उनलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको हो। उनलाई अहिले साइबर ब्युरोमा लगिएको छ। आज नै अदालतमा हाजिर गरेर म्याद थप्ने तयारी छ।
केही दिन अघि प्रसाईंविरुद्ध सांसद रचना खतिवडाले साइबर अपराधको कसुरमा उजुरी दिएकी थिइन्। त्यसैको आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई नियन्त्रणमा लिएको साइबर ब्युरोका एसपी दिलीप कुमार गिरीले बताए।
प्रसाईं यसअघि पनि धेरै पटक पक्राउ परेर छुटेका छन्।










