बाढी पहिरोका कारण ७ जिल्लामा ‘ब्ल्याक आउट’, कहिलेसम्म हुन्छ बिजुली आपूर्ति?

बिजमाण्डू
२०८३ असोज ११ गते १८:३० | Sep 27, 2026
बाढी पहिरोका कारण ७ जिल्लामा ‘ब्ल्याक आउट’, कहिलेसम्म हुन्छ बिजुली आपूर्ति?


काठमाडौं। बाढीपहिरोका कारण राष्ट्रिय प्रसारण लाइनमा क्षति हुँदा विभिन्न ७ जिल्लामा विद्युत आपूर्ति पूर्णरुपमा बन्द भएको छ।

Vigo
GBIME
Tata

विभिन्न प्रसारण लाइनमा भएको क्षतिका कारण बागलुङ, म्याग्दी, मनाङ, मुस्ताङ, रोल्पा, प्युठान र रुकुम पूर्वमा विद्युत आपूर्ति पूर्णरुपमा बन्द भएको हो।

गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख सुरज गौतमका अनुसार कालीगण्डकी नदीले ३३ केभीको प्रसारण लाइन बगाएपछि बागलुङ, म्याग्दी, मनाङ र मुस्ताङमा बिजुली पूर्णरूपमा अवरुद्ध भएको जानकारी दिंदै बागलुङ र म्याग्दीमा आइतबार रातिसम्म सेवा दिने गरी काम भइरहेको बताए।

‘कालीगण्डकी नदीले ३३ केभीएको प्रसारण लाइन बगाउँदा बागलुङ, म्याग्दी, मनाङ र मुस्ताङमा बिजुली अवरुद्ध भएको हो। कति ठाउँमा नदीले पोल बगाएको अवस्था छ। कति ठाउँमा पहिरोले तार पुरिदिएको छ,’ गौतमले भने, ‘हामीले बागलुङ र म्याग्दीमा आज नै बिजुली रिस्टोर गर्ने गरी काम गरिरहेका छौं। त्यसका लागि क्षति भएको ठाउँमा हामीले नयाँ टावर राखिरहेका छौं। मनाङ र मुस्ताङमा भने बाटोका कारण भोलिसम्म लाग्छ।’

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको दाना-कुश्मा खण्डमा क्षति पुग्दा १२ वटा आयोजनाको उत्पादन बन्द भएको छ।

३८ मेगावाटको निलगिरि-१, ७१ मेगावाटको निलगिरि-२, ४२ मेगावाटको मिस्त्री खोला, १४.८ मेगावाटको घार खोला, १३.६ मेगावाटको थापा खोला, ६ मेगावाटको लेले खोला, ५ मेगावाटको घलेम्दी, ४८.५ मेगावाटको अपर राहुघाट, ३५.५ मेगावाटको राहुघाट मङ्गले, २२.५ मेगावाट माथिल्लो ठूलोखोला, २१.३ मेगावाटको ठूलोखोला र ४० मेगावाटको राहुघाटको उत्पादन बन्द भएको हो।

नेपालगञ्ज डिभिजन कार्यालयका प्रमुख दीपक गौतमका अनुसार रोल्पा, प्युठान र रुकुम पूर्वमा पनि बिजुली सेवा पूर्णरुपमा अवरुद्ध भएकामा सोमबारसम्म सेवा उपलब्ध गराउने गरी काम भइरहेको छ।

१३२ केभीको लमही-झिमरुक प्रसारण लाइन अन्तर्गत दाङको मुरुकुटी भन्ने ठाउँमा तार चुँडिएर बिजुली अवरुद्ध भएकामा तार जोड्ने काम भइरहेको छ। घोराही-होलेरी ३३ केभी प्रसारण लाइनमा पनि विभिन्न ‍ठाउँमा रुख ढलेर तार र पोलमा क्षति पुगेको छ।

‘१३२ केभी लमही-झिमरुक प्रसारण लाइन अन्तर्गत दाङको मुरुकुटीमा तार चुँडिएको छ। आज बेलुकासम्ममा जोडिसक्ने भन्ने छ। त्यो जोडेपछि प्युठान र पूर्वी रोल्पामा बिजुली रिस्टोर हुन्छ,’ उनले भने, ‘यस्तै घोराही-होलेरी ३३ केभी प्रसारण लाइनमा पनि विभिन्न ठाउँमा रुख ढलेर पोर र तारमा क्षति पुगेकाले त्यहाँ पनि काम भइरहेको छ।’

तुल्सीपुरबाट सल्यान र रुकुम पश्चिम हुँदै रुकुम पूर्वमा विद्युत पठाउने ३३ केभीको प्रसारण लाइन पनि विभिन्न ठाउँमा रुख ढलेर अबरुद्ध भएको छ। ‘यहाँ बाढीले धेरै अबरोध भएका कारण आज बिजुली पुर्‍याउन सम्भव छैन। भोलिसम्म पुर्‍याउँछौं।’