काठमाडौं। बाढीले मुस्ताङ जोड्ने सडकहरू अवरुद्ध हुँदा चीनबाट आएका सामान भन्सारमै रोकिएका छन्। अविरल वर्षाले म्याग्दी-बाग्लुङ हुँदै मुस्ताङ जोडिने सडकहरूमा अवरोध सिर्जना गरेका कारण भन्सार पास भइसकेका सामान पनि अघि बढ्न नसकेका हुन्।
दुई उत्तरी नाका लामो समयदेखि बन्द हुँदा कोरला नाकाबाट ठूलो परिमाणमा सामान आयात भइरहेको छ। दसैं नजिकिँदै गर्दा दैनिक ५० भन्दा बढी कन्टेनर भन्सार पास भएर आउने गरेका थिए।
यतिबेला भन्सारमा चाडपर्व र जाडो लक्षित सामानका साथै ठूलो परिमाणमा विद्युतीय सवारी छन्। यस्तोमा उच्च हिमपातका कारण पनि भन्सारको कामलाई असर पुर्याएको मुस्ताङ भन्सारका प्रमुख अधिकृत विदुर चुडालले बताए।
बाटो सहज नहुँदा व्यवसायीले आयात गरेका सामान बजारसम्म पुग्न सकेको छैनन्। धेरै ठाउँमा बाटो अवरुद्ध भएकोले भन्सारमा आएका सामान तत्काल जान सक्ने अवस्था नभएको उनले जानकारी दिए।
‘मुस्ताङ भन्सारबाट ५० भन्दा बढी कन्टेनर भन्सार पास भएका छन्। अहिले कोरला नाकासम्म हिमपात भएको छ,’ उनले भने, ‘भन्सारमा यार्ड र गोदामको व्यवस्था नहुँदा यतिबेला आयात भएका सबै सामान कन्टेरमै राखिएको छ।’

उनका अनुसार हाल भन्सारमा करिब १५० भन्दा बढी कन्टेनरमा आयात गरेका सामान छन्। ६० वटा खाली कन्टेनर पनि छन्।
भन्सारमा दैनिक २५ करोड रुपैयाँ राजश्व संकलन हुने गरेको छ। चालु आर्थिक वर्षमा मुस्ताङ भन्सारमा करिब ५ अर्ब ५१ करोड रुपैयाँ राजश्व संकलन गरिसकेको छ।
दसैं नजिकिदै गएपछि कोरला नाकामा आयातको चाप छ। रेडिमेड कपडा, गारमेन्टका कच्चा पर्दाथ, फलफूल, इभी लगायतका सामानहरू उक्त नाकाबाट आयात भइरहेको छ।











