काठमाडौं। लगातारको वर्षासँगै खसेको पहिरोमा परी बागलुङमा एकै घरका चार जनाको मृत्यु भएको छ। पाल्पामा दुई जनाको मृत्यु भएको छ भने तीन जना छन्।
बागलुङको निसीखोला गाउँपालिका-३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा श्यामकुमारी विक र उनका तीन छोराहरु मनोज, मुकेश र निसान विक छन्।
पहिरोमा पुरिएका उनीहरूमध्ये तीन जनाको शव केहीबेरअघि निकालिएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
यस्तै, पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। माथागढी गाउँपालिका-२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका-६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी भीमलाल भट्टराईका अनुसार पहिरोमा पुरिएका दुवै जनाको शव निकालेर परीक्षणका लागि तानसेनस्थित जिल्ला अस्पताल पाल्पा पठाइएको छ।
यसैगरी, माथागढी-३ कसेनी भैसीकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। पहिरोले लीलबहादुर घर्तीमगरको घर पुरिँदा घर्तीमगरका परिवारका दुई जना र छिमेकीकी एक छोरी बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको डीएसपी भट्टराईले बताए।











