कान्ति लोकपथमा खसेको पहिरो हटाइयो, रातको समयमा सवारीसाधन सञ्चालनमा भने रोक

बिजमाण्डू
२०८३ असोज १० गते २०:०४ | Sep 26, 2026
कान्ति लोकपथमा खसेको पहिरो हटाइयो, रातको समयमा सवारीसाधन सञ्चालनमा भने रोक


ललितपुर। कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ। यद्यपि जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको कान्ति लोकपथ आयोजनाले जनाएको छ।

Vigo
GBIME
Tata

लगातारको वर्षापछि कान्ति लोकपथको बिर्खेधारा, पाङ्दुर र टाकुर्चेमा पहिरो गएपछि शुक्रबार दिनभरी नै सवारीसाधन सञ्चालन हुन सकेको  थिएन। शनिबार बिहानैदेखि पहिरो पन्छाएर दिउँसोपछि रोकिएका सबै सवारीसाधन गन्तव्यतर्फ पठाइएको आयोजनाका सुपरभाइजर दीपक घिमिरेले जानकारी दिए।

मौसमविद्ले भोलिसम्म नै भारी वर्षाको जोखिम औँल्याएकाले जिल्ला प्रशासन कार्यालयले रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। बिहीबारदेखि रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको ललितपुर जिल्ला प्रशासनले शुक्रबार दिउँसोसमेत सवारी सञ्चालनमा रोक लगाएको थियो।

रातको समयमा जोखिम हुने भएपछि काठमाडौंबाट छुटेका सवारीसाधनलाई टीकाभैरवबाट उता जान रोक लगाइएको छ भने मकवानपुरबाट आउने सवारीसाधनलाई चौगडामै रोकिएको प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले बताए।

सुपरभाइजर घिमिरेका अनुसार कान्ति लोकपथको २७ ठाउँ जोखिमयुक्त क्षेत्र मानिएको छ। त्यसमध्ये भैँसेखोलादेखि बगुवासम्म विभिन्न ठाउँमा पहिरोको जोखिम रहेको उनले जानकारी दिए।

उनले भने, ‘भैँसे खोला, बिर्खेधारा, नयाँगाउँ, कार्कीबास, टाकुर्चे, पाङदुर, तामा खानी, काल्चे, माल्टा दोबाटोलगायत विभिन्न २७ ठाउँमा पहिरोको उच्च जोखिम छ।’

अवरोध भएको सडकखण्डमा पहिरो हटाउनका लागि स्काभेटर तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। रासस