काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किएका छन्। १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
प्रधानमन्त्री शाह गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। न्युयोर्क पुगेपछि उनले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए।

शाहले नेपाली समयअनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटपछि उनले महासभालाई नेपालका तर्फबाट सम्बोधन गरेका थिए।


भ्रमणका क्रममा प्रधानमन्त्री शाह न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङमा सहभागी भएका थिए। उनले त्यहाँ आयोजित औपचारिक स्वागत समारोहमा समेत सहभागिता जनाएका थिए।


महासभासहितका कार्यक्रम सम्पन्न गरेर बालेन न्युयोर्कबाट दोहा हुँदै काठमाडौं फर्किएका हुन्। उनलाई अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
उनको भ्रमणका क्रममा भएका भेटवार्ता र गतिविधिबारे परराष्ट्र मन्त्रालयले आज प्रेस ब्रिफिङ गर्ने भएको छ।











