काठमाडौं। कञ्चनपुरका भन्सार अधिकृतले एसपीलाई थर्काएको अडियो बाहिरिएपछि सशस्त्र प्रहरी बलले देशभर पत्राचार गर्दै प्रज्ञापन पत्र भएका सवारी साधन नियन्त्रणमा लिँदा प्रहरी महानिरीक्षकलाई जानकारी गराउन निर्देशन दिएको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले बुधबार साँझ आफ्ना सबै कार्यालयलाई पत्र पठाएको हो। भन्सार अधिकृतले धम्की दिएको विषयमा माथिल्लो तहमा जानकारी गराउनुपर्नेमा मनोबल घटाउने गरी पत्राचार गरेको भन्दै संगठनभित्र भने असन्तुष्टि बढेको छ।
सशस्त्रका महानिरीक्षक नारायणदत्त पौडेलले गृह मन्त्रालयसँग कुनै समन्वय नगरी पत्राचार गरेकोमा उच्च अधिकृतहरु असन्तुष्ट भएका हुन्। भन्सार अधिकृतको धम्कीलाई लिएर छानबिन गर्नुपर्नेमा उल्टै पत्र पठाएर मनोबल कमजोर बनाउने काम भएको सशस्त्रका एक अधिकृतले बताए।
‘यसले काम गर्न मनोबल घट्छ। सशस्त्रको दायरा झन् कम हुँदै जाने अवस्था आएको छ। एसपीको गल्ती भए उनलाई अनुसन्धान गरेर कारबाही गर्नुपर्नेमा आफ्ना सबै कार्यालयलाई पत्राचार गरेर संगठनको मनोबल घटाउने काम गरिएको छ,’ ती उच्च अधिकृतले भने।
भन्सार अधिकृतको हेपाहा शैलीलाई समेत आइजीपीले बेवास्ता गरेको भन्दै सशस्त्रका प्रहरी अधिकृतहरु निराश छन्।
‘एसपीको गल्ती भए उनी कारबाहीको भागीदार हुन्। तर सामाजिक सञ्जालमा भाइरल भएको अडियोले भने अधिकृतको हेपाहा शैली देखिन्छ। उनले धम्काएको प्रस्ट हुन्छ,’ अर्का अधिकृतले भने।
बिहीबारको संसद् बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद ज्वाला संग्रौलाले पनि सशस्त्र प्रहरीलाई धम्काएको विषयमा प्रश्न उठाएकी छन्। उनले एउटा अधिकृतले गृहमन्त्रीसम्म पहुँच बनाउने र तल्लो स्तरको गाली गरेको विषय गम्भीर भएको बताइन्।
त्यसो त भन्सार कर्मचारी र सशस्त्र प्रहरीको मिलेमतोमा भन्सार छलीका घटना नभएका होइनन्।
सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी नेत्रबहादुर कार्कीले भने पत्राचारको विषयमा आफूलाई थाहा नभएको बताए। तर, उनले पत्राचार भए पनि सिधै महानिरीक्षकलाई जाहेरी नभएर माथिल्लो निकायमा भनिएको हुनसक्ने बताए।
कञ्चनपुर भन्सार कार्यालयका अधिकृत चक्रदेव भट्टले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका एसपी खुमबहादुर केसीलाई थर्काएको अडियो केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल छ।
भन्सारबाट छुटेको गाडी सशस्त्र प्रहरीले अत्तरियाबाट नियन्त्रणमा लिएको थियो। यही विषयमा भन्सार अधिकृत भट्टले किन दलबलसहित गएर गाडी नियन्त्रणमा लिएको भन्दै प्रश्न गरेका छन्।
प्रहरीसँग गाडी नियन्त्रण गर्ने अधिकार हुँदैन। त्यसपछि गाडी भन्सार कार्यालय कैलालीमा बुझायो। भन्सार कार्यालयले गाडी चेक गर्दा बिलबिजक अनुसारकै सामान देखियो। त्यसपछि पुनः कन्चनपुर भन्सार कार्यालयलाई बुझाइयो। सोमबार नै भन्सार जाँच भएपछि गाडी छोडिएको थियो।
‘राज्यका लागि बोलेको हुँ’
अधिकृत भट्टले आफ्नो स्वार्थका लागि नभएर राज्यका लागि बोलेको बताए।
‘एउटा बोली मिलेन होला। तर प्रक्रियामा शंका गर्ने ठाउँ राखेको छैन। भन्सार पास भएका गाडी बारम्बार समातिंदा व्यापारी निरुत्साहित भएर राजस्व नै प्रभावित हुने अवस्था आएकोले टेलिफोन गरेको हुँ,’ अधिकृत भट्टले बिजमाण्डूसँग भने।
अधिकृत भट्ट नासुबाट सेवा प्रवेश गरेका हुन्। उनी दुई वर्षदेखि कञ्चनपुर भन्सार कार्यालयमा कार्यरत छन्। अधिकृत भट्टले गृहमन्त्री र माथिल्लो निकायमा व्यक्तिगत सम्बन्ध र सम्पर्क नभएको बताए।
एसपी केसीले भने न्यून बिजकीकरणका आधारमा गाडी नियन्त्रणमा लिएको बताए। ‘न्यून बिजकीकरणको शंका लागेर गाडी नियन्त्रणमा लिएको हुँ,’ उनले भने।
राजस्व अनुसन्धान खारेज नहुँदा अन्योल
सरकारले राजस्व अनुसन्धान विभाग खारेज गरेपछि सशस्त्र प्रहरी परिचालनको विषय अन्योलमा छ। विभागको समन्वयमा सशस्त्र प्रहरीले राजस्वमा काम गर्ने गरेको थियो। भन्सार र कर छलीका शङ्कास्पद घटनामा राजस्वको टोलीले सशस्त्र परिचालन गर्ने गरेको थियो।
तर, अहिले विभाग नै खारेज भएपछि यस्ता घटनाको अनुसन्धान कसले गर्ने भन्ने अन्योल छ। विभागमा ५० जनाको दरबन्दीमा सशस्त्रको टोली थियो। डीएसपीको कमान्ड टोली परिचालन हुने गर्थ्यो। तर, अहिले प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको मात्र टोली छ। उनीहरुको खासै काम छैन।
आन्तरिक राजस्व विभागलाई गाडी नियन्त्रण गर्ने र खानतलासी गर्ने अधिकार छैन। समातेको गाडीका बारेमा सशस्त्र प्रहरीले भन्सार र आन्तरिक राजस्व विभागलाई खबर गर्ने गरेको छ। तर उनीहरू अधिकार नभएको भन्दै पन्छिने गर्छन्। जसले गर्दा सशस्त्र प्रहरी द्विविधामा छ।
नेपाल प्रहरीले पनि भन्सार छलीका घटनामा सामान र मानिस समाउने गरेको छ। प्रहरीसँग राजस्व जोडिएका केही विषयमा मुद्दा चलाउने अधिकार नै छ। तर सशस्त्र प्रहरीले मुद्दा चलाउन सक्दैन।
यस्तो थियो भन्सार अधिकृतको हप्कीदप्की
अधिकृत- हेलो! एसपी साब हो हजुर?
एसपी- हजुर हजुर
अधिकृत- सर नमस्ते हजुर, म कञ्चनपुर भन्सारबाट अधिकृत हुँ हजुर। त्यहाँ हजुरले एउटा गाडी समात्नु भएको छ कञ्चनपुर भन्सार कार्यालयबाट छुटेको हो हजुर?
एसपी- गाडी समात्ने भन्दा त्यहाँ इन्डियन गाडी हो? सामान भएको इन्डियन गाडी भनौं न। इन्डियन नम्बरको गाडी। हो हो।
अधिकृत- के भनेर समातेको ?
एसपी- त्यो अलिक अन्डर बिलिङ छ भनेर हो।
अधिकृत- अन्डर बिलिङ भए तुरुन्त भन्सारमा पठाउनु पर्यो हजुरको
एसपी- अँ भन्सारमा नै पठाउने हो।
अधिकृत- भन्सारमा नै पठाउनु पर्यो। ठिक छ हजुरलाई लाग्यो भने छोड्नु पर्यो।
एसपी- हुन्छ हुन्छ।
अधिकृत-पहिले पनि त्यहाँबाट एकदम दु:ख दिएको छ। अब दु:ख पायो भने भोली भन्सार पुगेन वा छुटेन भने म सिधै आइजी वा गृहमन्त्रीलाई हान्छु।
एसपी- ए हुन्छ हजुर हुन्छ।
अधिकृत- यति बुझिसिएला हजुर। मैले कुनै केही गरेको होइन। त्यो धनगढीबाट धेरै गल्ती गरिन्छ। हजुरलाई मैले जानकारी गराइदिएँ सर।
एसपी- उम
अधिकृत- भोलि गाडी गएन वा कुनै क्वान्टिटी हालेर गयो भनेपछि म भोलि मेरो डिजी, हजुरको आइजीपी प्लस तीन जनालाई म स्वाट्टै हान्छु।
एसपी- ए हुन्छ हजुर
अधिकृत- मलाई अचम्म लागेको छ। पूरै जम्बो टोली लिएर आएका थिए रे समात्न। कुनै त्यो आतङ्कवादी थियो र सर?
एसपी- होइन त्यस्तो होइन।
अधिकृत- महेन्द्रनगरले नसमात्ने, लोकलले नसमात्ने, त्यहाँ गएर कसरी समात्यो? त्यो कुनै भनेर पैसा नपाएपछि समातिएको होइन त्यो!
एसपी- खै पैसा पाए नपाएको त तपाइँलाई थाहा होला।











