जापानको नागोयामा आजदेखि बिसौँ एसियाली खेलकुद, नेपाली खेलाडी अघिल्लोभन्दा आधा नै कम

बिजमाण्डू
२०८३ असोज ३ गते १५:२७ | Sep 19, 2026
जापानको नागोयामा आजदेखि बिसौँ एसियाली खेलकुद, नेपाली खेलाडी अघिल्लोभन्दा आधा नै कम


काठमाडौं। बिसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु हुँदैछ। प्रतियोगिता असोज १८ गतेसम्म आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुन लागेको हो।

Vigo
GBIME
Tata

प्रतियोगिताको उद्घाटन समारोह नागोया सिटी मिजुहोपार्क एथलेटिक खेल मैदानमा हुँदैछ। समारोह स्थानीय समयअनुसार आज शनिबार साँझ ६ बजे सुरु हुनेछ। प्रतियोगिताका केही खेल भने उद्घाटन समारोहअघि सुरु भइसकेका छन्।

नेपालबाट १३५ खेलाडीको सहभागिता छ। यस संस्करणको एसियाली खेलकुदमा नेपाली खेलाडीले २१ खेलमा प्रतिस्पर्धा गर्ने भएका छन्। नेपालबाट सहभागी हुने खेलाडीमा ५७ महिला र ७८ पुरुष रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले बताए।

उनका अनुसार टोलीमा खेलाडीबाहेक प्रशिक्षक, व्यवस्थापक, प्राविधिक तथा मेडिकल प्रतिनिधिसहित २११ जना छन्। अघिल्लो संस्करणको तुलनामा नेपालको खेलाडी सङ्ख्या घटेको छ। सन् २०२३ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा नेपालबाट २५३ खेलाडी सहभागी भएका थिए।

सदस्यसचिव मेहताका अनुसार नेपालबाट कबड्डीमा सबैभन्दा बढी २४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ तथा बक्सिङमा सात खेलाडी सहभागी हुँदैछन्। साथै एथलेटिक्स, जुडो, टेबलटेनिस र कुस्तीमा ६-६ तथा पौडी र टेनिसमा पाँच-पाँच खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्।

यस्तै ब्याडमिन्टन, गल्फ र सफ्ट टेनिसमा चार-चार, तेक्वान्दोमा तीन तथा आर्चरी, साइक्लिङ, र्‍याफ्टिङ एण्ड क्यानोइङ, स्केट एण्ड स्केट बोर्डिङ र स्क्वासमा दुई-दुई खेलाडीले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए।

उद्घाटन समारोहमा बक्सिङका चन्द्रबहादुर थापामगर र कबड्डीकी मानमती विष्टले नेपालको राष्ट्रिय झण्डा बोक्नेछन्। थापामगरले गत वर्ष दुबईमा भएको विश्व बक्सिङ च्याम्पियनसिपमा काँस्य पदक जितेका थिए भने विष्टको कप्तानीमा नेपाली महिला कबड्डी टोलीले सन् २०२३ को हाङझाउ एसियाली खेलकुदमा काँस्य पदक जितेको थियो।

नेपालले यसपटक एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेको छ। आइची-नागोया एसियाली खेलकुदमा ४३ खेल समावेश छन्। प्रतियोगितामा ४५ देश तथा क्षेत्र र एक शरणार्थी टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।