पोल्ट्री फर्ममा बर्डफ्लुको असर बोइलरको भाउमा, उपभोक्ता मूल्य किलोको ४०० रुपैयाँ



बिजमाण्डू
२०८३ भदौ २४ गते १३:१० | Sep 9, 2026
पोल्ट्री फर्ममा बर्डफ्लुको असर बोइलरको भाउमा, उपभोक्ता मूल्य किलोको ४०० रुपैयाँ


काठमाडौं। बर्डफ्लुको असर बोइलर कुखुराको मूल्यमा देखिन थालेको छ। गत तीन महिना बर्डफ्लुले गर्दा धेरै कुखुरापालकका खोर खाली हुँदा आपूर्ति परिमाणसँगै बजार मूल्यमा असर परिरहेको छ।

Vigo
GBIME
Tata

बढेको खपतका तुलनामा आपूर्ति पर्याप्त नभइरहेका बेला राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले बुधबारदेखि लागू हुने गरी कोल्डस्टोर खरिद मूल्य बढाएर तोकेको छ। संघका अनुसार जिउँदो बोइलर कुखुराको मूल्य केजीमा १० रुपैयाँ र तयारी मासुको मूल्य केजीमा १५ रुपैयाँ बढाइएको छ।

नयाँ रेट अनुसार अब थोकमा जिउँदो कुखुरा बढेर प्रति केजी २९० रुपैयाँ भएको छ भने तयारी मासुको उपभोक्ता मूल्य प्रति केजी ४०० रुपैयाँ तोकिएको छ।

बर्डफ्लुका कारण कुखुरा उत्पादन कम भएपछि भाउ बढेको संघका अध्यक्ष जंगबहादुर बीसीले बताए। नयाँ चल्ला राखेपछि उत्पादन आउन ४५ देखि ६० दिन लाग्छ। गत साउनदेखि बर्डफ्लु हराएपछि किसान तथा व्यवसायीले खोरमा नयाँ चल्ला हाल्न थालेका छन्। अबको केही समयमा नयाँ उत्पादन आएपछि भाउ सस्तो हुन सक्ने उनको भनाइ छ।

‘बर्डफ्लुका त्रासले गर्दा कुखुरापालक किसानले चल्ला राखेका थिएनन्। किसानको खोरमा रहेको कुखुरा र चल्ला बर्डफ्लुले गर्दा नष्ट गरिएको थियो। त्यसको असर यतिबेला मासुको मूल्यमा देखिएको हो,’ उनले भने।

उनका अनुसार देशभर हुने मागका तुलनामा आधा नै उपत्यकामा खपत हुँदै आएको छ। हाल उपत्यकामा कुखुराको मासुको माग दैनिक ३ लाख केजी छ भने देशभर गरेर माग करिब ६ लाख केजी छ।

बर्डफ्लुका कारण धेृै किसान र पोल्ट्री फर्महरुका खोर खाली भएपछि अहिले बजारमा माग अनुसार आपूर्ति गर्न गाह्रो परिरहेको छ। चाडपर्व नजिकिदै गर्दा माग बढ्न थालेको छ, तर पर्याप्त उत्पादन छैन। खोरमा हालेका नयाँ चल्ला तयार आएर आउँदासम्म चाडबाडका बेला मूल्य घट्नसक्ने अनुमान छ।