फरक कम्पनीको सिलिन्डर विनाशुल्क साट्ने व्यवस्था मिलाउन निगमलाई मन्त्रीको निर्देशन



बिजमाण्डू
२०८३ भदौ २४ गते १२:१७ | Sep 9, 2026
फरक कम्पनीको सिलिन्डर विनाशुल्क साट्ने व्यवस्था मिलाउन निगमलाई मन्त्रीको निर्देशन


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले विनाअतिरिक्त शुल्क फरक कम्पनीको सिलिन्डर साट्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएकी छन्। खाना पकाउने ग्यासको आपूर्ति सहज गराउन मन्त्री यादवले नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगहरूलाई यस्तो निर्देशन दिएकी हुन्।

Vigo
GBIME
Tata

बाढीका कारण आपूर्ति प्रणालीमा असर परेपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव भएको अवस्थालाई मध्यनजर गर्दै मन्त्री यादवले सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन जानकारी गराएकी छन्।

मन्त्री यादवले काठमाडौं उपत्यकाभित्र मात्र लागू हुने गरी एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिन्डरसँग उही मूल्यमा साटासाट गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ।

यस व्यवस्थाले उपभोक्ताले प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर तत्काल उपलब्ध नभएसम्म अन्य कम्पनीको ग्यास सिलिन्डर प्रयोग गर्न सक्नेछन्।

साथै, उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा तोकिएको व्यवस्थाविपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ।