६८ वर्षपछि एयर इण्डियाको स्वामित्व औपचारिकरुपमा फर्कियो टाटा समूहमा, एक महिनामा उडान पुनः सुरु



बिजमाण्डू
२०७८ पुष ८ गते १३:२२ | Dec 23, 2021
६८ वर्षपछि एयर इण्डियाको स्वामित्व औपचारिकरुपमा फर्कियो टाटा समूहमा, एक महिनामा उडान पुनः सुरु

६८ वर्षपछि एयर इण्डियाको स्वामित्व पुनः टाटा समूहमा फर्किएको छ। भारतीय प्रतिस्पर्धा आयोगले एयर इण्डियाको सम्पूर्ण स्वामित्व औपचारिक रुपमा टाटालाई हस्तान्तरण गरेको जनाएको छ। बुधबार आयोगले एयर इण्डियासँगै एआई एक्प्रेस, एआई एसएटिएस एयरपोर्ट सर्भिसेज लगायत कम्पनीको स्वामित्व एकमुष्ट रुपमा टाटामा हस्तान्तरण गरेको हो।

Tata
GBIME
Nepal Life

स्वामित्व हस्तान्तरण भएसँगै अब ठिक एक महिनापछि (सन् २०२२ जनावरी २३ देखि) एयर इन्डियाको उडान संचालन गर्ने तय भएको छ।

केही महिनाअगाडि भारतको राष्ट्रिय ध्वजावाहक कम्पनी एयर इण्डियाको स्वामित्व टाटालाई दिने निर्णय गरेसँगै स्वामित्व हस्तान्तरणको प्रक्रिया सुरु गरिएको थियो।

कम्पनीले उडान संचालन गर्नुअघि पहिलेका कर्मचारीहरुको व्यवस्थापनको काम सुरु गरेको जनाइएको छ। टाटाले यो कम्पनी संचालनका लागि नयाँ भगिनी कम्पनी 'ट्यालेस' स्थापना गरिसकेको छ।

यो कम्पनीका लागि तीन अर्ब दुई करोड अमेरिकी डलर ऋण लिने योजना रहेको जनाइएको छ। कम्पनीले आफ्नो सेवा विस्तार, कर्मचारी सन्तुष्टी, कार्यसम्पादन लगायत कुरालाई मध्यनजर गर्दै एक सय दिने कार्ययोजना तयार पारिसकेको बताइएको छ।

कम्पनीले निकट भविष्यमा आफूसँग सम्बद्ध एयरएसिया इण्डिया, एआई एक्सप्रेस लगायत कम्पनी पनि यसैमा गाभ्ने योजना रहेको छ। कमपनीले तत्काल भिस्तारा पनि एयर इण्डियामै गाभ्ने औपचारिक जानकारी भने नआइसकेको जनाइएको छ।

एजेन्सीका अनुसार हाल कम्पनीसँग भएको ८० प्रतिशत जहाज उडान योग्य रहेको छ। कम्पनीमा मर्मत संभार गर्नुपर्ने प्रत्येक एयरबसको वाइडबडी जहाजका लागि तीन लाख अमेरिकी डलर लागत रहेको जनाइएको छ। कम्पनीसँग भएको एयरबस ३२० जहाजको इन्जिन फेर्नका लागि करोडौं रुपैयाँ लागत अनुमान गरिएको छ।

कम्पनीले पश्चिमतर्फ सुरुमा अमेरिकाको पाँचवटा, युरोपको आठवटा गरी जम्मा १५ गन्तव्यमा उडान गर्ने योजना रहेको जनाइएको छ।

गत अक्टोबरमा सरकारले यो ध्वजावाहक कम्पनी टाटालाई दिने घोषणा गरेँगै अध्यक्ष रतन टाटाले ट्विटरमा 'वेलकम ब्याक एयर इन्डिया!' पोस्ट गरेका थिए।

निरन्तर घाटा धान्न गाह्रो परेपछि सरकारले करिब दुई वर्षअगाडि एयर इण्डियाको शतप्रतिशत हिस्सा बिक्री गर्ने उद्देश्यले टेण्डर आह्वान गरेको थियो। आन्तरिक प्रतिस्पर्धी स्पाइस जेटका अध्यक्ष अजय सिंह र टाटा सन्स बीच बोलकबोल चल्यो। प्रतिस्पर्धामा बढीको बोली लगाएर टाटा समूह उक्त वायुसेवा कम्पनी खरिद गर्न सफल भएको हो।

सन् १९३० मा एयर इन्डिया टाटा समूहले नै सुरु गरेको थियो। ६८ वर्ष अगाडि यसले यो वायुसेवा सरकारलाई हस्तान्तरण गरेको थियो। टाटा समूहले एयर इन्डिया पुनः आफ्नै स्वामित्व लिन सफल भएको हो। सरकारले राखेको मूल्य र स्पाइस जेटले कबोल गरेको रकमका तुलनामा टाटा समूहले तीन हजार करोड बढीको कबोल गरेको थियो।