ग्लोबल आइएमइ बैंकले बेलायतको सीडीसी ग्रुपबाट तीन अर्ब ऋण लिँदै, प्राथमिकता क्षेत्रमा लगानी



बिजमाण्डू
२०७८ मंसिर २९ गते १७:२८ | Dec 15, 2021
ग्लोबल आइएमइ बैंकले बेलायतको सीडीसी ग्रुपबाट तीन अर्ब ऋण लिँदै, प्राथमिकता क्षेत्रमा लगानी


काठमाडौं। ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्तीय संस्था सीडीसी ग्रुप (केही समयमै ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट हुँदैछ) बाट करिब तीन अर्ब रुपैयाँ (२५ मिलियन अमेरिकी डलर) ऋण लिने भएको छ। 

Tata
GBIME
Nepal Life

सीडीसीबाट प्राप्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्ने र प्राथमिकताका क्षेत्रहरु जलविद्युत, नवीकरणीय ऊर्जा तथा पूर्वाधार, निर्माण, उत्पादन, कृषि र पर्यटन क्षेत्रसम्बन्धी व्यवसायमा ऋण विस्तार गर्न सहयोग पुग्ने बैंकले जनाएको छ।

प्राप्त ऋणलाई बैंकले कोभिड महामारी पछिको आर्थिक पुनरुत्थान तथा रोजगारी सृजनामा लगानी बढाउन प्रयोग गर्ने जनाएको छ। ऋण विस्तारले दिगो र समावेशी विकासमा सहयोग पुग्ने अपेक्षा बैंकको छ। 

सीडीसी ग्रुपका प्रबन्ध निर्देशक तथा एशिया प्रमुख श्रीनि नागाराजनले नेपाल सधैं सीडीसीको प्राथमिकतामा रहेको बताउँदै नेपालभर शाखा सञ्जाल पुगेको ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले ऋण सहयोगबाट नेपालको आर्थिक पुनरुत्थान र दिगो विकासमा सीडीसीको प्रतिवद्धता रहेको प्रष्ट भएको समेत बताएका छन्। 

‘विश्व अर्थतन्त्रमा देखिएको मन्दीसँगै अन्तर्राष्ट्रिय पुँजी लगानीमा कमी आएको अहिलेको अवस्थामा ग्लोबल आइएमई बैंकसँगको हाम्रो यस सहकार्यले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको सकारात्मक सन्देश प्रवाह हुनेछ। ठूलो विदेशी लगानी भित्र्याउँदै मुलुकको आर्थिक रुपान्तरणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ,’ नागाराजनले भने।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विश्वका ७० भन्दा बढी देशमा सञ्जाल रहेको सीडीसीसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै प्राप्त ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र प्राथमिकताका क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री प्रतिनिधि रवि रायमाझीले सम्झौता आदानप्रदान गरेका छन्।