कतारमा उडान संख्या बढाउँदै नेपाल वायुसेवा निगम, पुस ८ गतेबाट ११ उडान गर्दै



बिजमाण्डू
२०७८ मंसिर २९ गते ०९:५७ | Dec 15, 2021
कतारमा उडान संख्या बढाउँदै नेपाल वायुसेवा निगम, पुस ८ गतेबाट ११ उडान गर्दै

काठमाडौं। नेपाल वायुसेवा निगमले काठमाडौं-दोहाको उडान संख्या विस्तार गर्ने भएको छ। हाल साताको सातवटा नियमित उडान गर्दै आएको निगमले एक सातापछि ११ वटा उडान गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

निगमले दिउँसोको समयमा साताको चारवटा उडान गर्ने जनाएको छ। यो गन्तब्यका लागि यात्रुको माग वृद्धि भएसँगै उडान संख्या विस्तार गरेको निगमले जनाएको छ।

'काठमाडौं-दोहा दुईतर्फी उडानमा यात्रुको माग उल्लेख्य रहेको छ। अहिले लागु भइरहेको भाडादर घटोस् भन्ने उद्देश्यले उडान संख्या विस्तार गरेका हौँ,' निगमका एक उच्च पदाधिकारीले भने।

उनका अनुसार यो गन्तब्यका लागि सुरुवाती भाडादर ३५ हजार रुपैयाँ निर्धारण गरिएको छ। यस अघि निगमले काठमाडौं-दुवई तर्फको उडान संख्या विस्तार गरिसकेको छ। काठमाडौं-दुवई साताको सातवटा उडान गर्दै आएको निगमले साताको नौवटा उडानमा विस्तार गरिसकेको छ।

निगमले यी दुवै गन्तब्यमा यात्रुको माग अनुसार वाइड बडी र न्यारो बडी दुवै प्रकारका जहाज आवश्यकता अनुसार उडाउने पनि जनाएको छ।

हाल निगमले दुईवटा एयरबस ३२० र दुईवटा एयरबस ३३० मार्फत दिल्ली, मलेसिया, कतार, बैंकक, दुबई लगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएको छ।