भोटेकोशी बाढीको विनासले इन्स्योरेन्स कम्पनीलाई भार, २६ अर्ब रुपैयाँ बीमा दाबी, कुनमा कति?



बिजमाण्डू
२०८३ भदौ १६ गते १३:३३ | Sep 1, 2026
भोटेकोशी बाढीको विनासले इन्स्योरेन्स कम्पनीलाई भार, २६ अर्ब रुपैयाँ बीमा दाबी, कुनमा कति?


काठमाडौं। भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले भएको क्षतिमा बीमा कम्पनीहरुमा करिब २६ अर्ब रुपैयाँको दाबी परेको छ।

Vigo
GBIME
Tata

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण भएको क्षतिमा विभिन्न १३ वटा इन्स्योरेन्स कम्पनीमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँको दाबी परेको हो। नेपाल बीमा प्राधिकरणका अनुसार दि ओरियण्टल बीमा कम्पनीमा सबैभन्दा धेरै १३ अर्ब ४ करोडको दाबी परेको छ।

युनाइटेड अजोड इन्स्योरेन्समा ४ अर्ब ९७ करोड, सानिमा जीआइसीमा २ अर्ब १० करोड, सिद्धार्थ प्रिमियरमा १ अर्ब ८८ करोड, शिखरमा १ अर्ब ८७ करोड, हिमालयन एभरेष्टमा ६४ करोड ८७ लाख, नेकोमा ५१ करोड ७० लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २४ करोड २३ लाख रुपैयाँ बीमा दाबी परेको छ।

इन्स्योरेन्स कम्पनीहरुमा परेको दाबीमा सबैभन्दा धेरै इन्जिनियरिङ तथा ठेकेदार बीमातर्फ छ। इन्जिनियरिङ तथा ठेकेदार बीमातर्फ २० अर्ब ५० करोड ७७ लाख रुपैयाँको दाबी परेको प्राधिकरणले जनाएको छ।

बाढीले सञ्चालनमा रहेका र निर्धाणाधीन गरी एक दर्जन जलविद्युत आयोजना सहित जनधनको ठूलो क्षति भएको छ। सरकारी अधिकारीहरुले करिब २ हजार हाराहारी घर डुबानमा परेको आंकलन गरेका छन्।

सम्पत्ति बीमातर्फ २ अर्ब ३४ करोड र मोटर बीमातर्फ १ अर्ब ५५ करोड दाबी परेको छ। यस्तै परिबहन बीमातर्फ ८९ करोड ७७ लाख रुपैयाँ दाबी परेको छ। व्यवसायीहरुका अनुसार रसुवागढी नाकामा मात्र ७०० भन्दा बढी नयाँ गाडी र २०० भन्दा बढी कन्टेनर बाढीले बगाएको थियो।

बाढीमा ज्यान गुमाएकामध्ये १००० जना भन्दा बढीको शव भेटिएको छ। बेपत्ता हुनेहरुको संख्या ठूलो छ। प्राधिकरणका अनुसार अहिलेसम्म स्वास्थ्य बीमातर्फ ४ करोड १६ लाख रुपैयाँको दाबी परेको छ।