काठमाडौं। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई जनामा नयाँ भेरियन्ट देखिएको जानकारी दिएको हो।
भाइरस देखिएपछि स्वास्थ्य मन्त्रालयमा मन्त्रिस्तरीय बैठक बसेर कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने विषयमा छलफलसमेत भएको छ।
पहिलो पटक यो भेरियन्ट दक्षिण अफ्रिकामा देखिएको थियो। यो भाइरस देखिएको दुई साता पूरा नहुँदै नेपालमा दुई जनामा संक्रमण पुष्टि भएको हो।
छिमेकी राष्ट्र भारतमा हिजोसम्म २२ जना मानिसमा यसको संक्रमण पुष्टि भएको छ। संक्रमण फैलिन थालेपछि केही राष्ट्रले अन्तर्राष्ट्रिय उडान रोक लगाइसकेका छन्।
यता नेपालमा पनि यो भेरियन्ट आउन नदिन सरकारले पूरा तयारी गरेको दाबी गरेको थियो। स्वास्थ्य मन्त्रालयले अति आवश्यक बाहेकका विदेश यात्रा नगर्न अनुरोध समेत गरेको थियो।
नेपालले अफ्रिकासँग कनेक्ट भएका फ्लाइटबाट नेपाल आउन रोक लगाएको थियो। तर पनि नेपालमा यो भेरियन्टले प्रवेश पाइसकेको छ।
यो भेरियन्ट ३५ देशमा फैलिससकेको छ भने विश्वभर ५ सय ७४ जनामा यसको संक्रमण पुष्टि भएको छ।
६६ वर्षीय विदेशी नागरिक मंसिर ३ गते नेपाल भित्रिएका थिए। उनमा मंसिर ७ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो। उनीसँगै सम्पर्कमा रहेका एक अर्का व्यक्ति पनि संक्रमित भएका थिए। उनीहरु दुवै स्वस्थ रहेको मन्त्रालयले जनाएको छ।
कसरी भित्रियो नेपालमा?
नेपालमा ओमिक्रोन संक्रमण देखिएका नागरिक विदेशी हुन्। ६६ वर्षीय विदेशी नागरिक मंसिर ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेको मन्त्रालयले जानकारी दिएको छ। उनी नेपाल आउँदा गरेको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको थियो। त्यस्तै, उनले कोरोना विरुद्धको खोप समेत लगाएका थिए।
नेपाल आएको चार दिनपछि अर्थात मंसिर ७ गते उनीसँग सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई कोरोना संक्रमणसँग मिल्दो लक्षण देखियो। त्यसपछि उनको कोभिड परीक्षण गरिएको थियो।
परीक्षण गर्दा कोभिड-१९ को नतिजा पोजिटिभ आएको थियो। कोभिड १९ परीक्षणमा पोजिटिभ आएकाहरुको (S-gene Target failure) परीक्षण गर्नुपर्ने हालको नयाँ रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा S-gene फेला परेको थिएन।
S-gene फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो। आइतवार राति भने ओमिक्रोन भाइरस भएको पुष्टि भएको हो।
अहिले दुवै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ। उनीहरुमा हाल कुनै लक्षणहरु देखिएको छैन।
दुई व्यक्तिहरुसँग सम्पर्कमा आएकाहरु सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो। सम्पर्कमा आएको ६६ जना सम्पर्कहरुको पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको मन्त्रालयले जानकारी दिएको छ।
छिमेकी राष्ट्र भारतमा समेत दुई दर्जन मानिसमा संक्रमण पुष्टि भएको छ। संक्रमण फैलिन थालेपछि केही राष्ट्रले विदेशीलाई आवतजावतमा रोक समेत लगाएका छन्।










