काठमाडौं। सेयर बजार लगातार ओरालो लाग्ने क्रम आइतबार पनि रोकिएन। आज सेयर बजारमा ७२ अंकको गिरावट आएको छ। बजारमा पछिल्लो एक हप्ताको अवधिमा मात्रै दोस्रो पटक ७० अंकभन्दा धेरैको गिरावट आएको छ।
बैंकिङ क्षेत्रमा तरलता सहज हुने छाट नदेखिदा लगानीकर्ताहरु घटेकै मूल्यमा सेयर बेचेर बाहिरिरहेको एक ब्रोकरले बताए। उनका अनुसार कोभिड-१९ को नयाँ भेरियन्ट विश्वव्यापी रुपमा फैलिरहेका कारण पनि सेयर बजारको भविष्य अन्यौलपूर्ण रहेकाले लगानीकर्ताहरु घटेकै बजारबाट बाहिरिएका हुन्।
अहिले विश्वका ठूला सेयर बजार पनि घटिरहेकाले त्यसको प्रभाव नेपालमा पनि परेको हुन सक्ने ती ब्रोकरले बताए।
बुधबार र बिहिबारको तुलनामा कारोबार रकम बढेपनि सूचक भने ६ कारोबार दिनमा २१८ अंकले घटिसकेको छ। बुधबार दुई अर्ब ७२ करोड रुपैयाँको कारोबार भएकोमा बिहिबार तीन अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। आइतबार भने कारोबार रकम चार अर्ब चार करोड रुपैयाँ नाघेको छ।
कारोबारमा आएका २२६ कम्पनी मध्ये ९ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। ती मध्ये न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेपनि अन्य कम्पनीको सेयर मूल्य ३/४ प्रतिशत मात्रै बढेको छ।
आइसीएफसी फाइनान्स र सबैको लघुवित्तको सेयर मूल्य सर्वाधिक ८/८ प्रतिशत घटेको छ। कर्णाली र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ६/६ प्रतिशत घटेको छ।
नेशनल हाइड्रोपावरको सर्वाधिक २८ करोड रुपैयाँको सेयर किनबेच भएकोमा हिमालयन डिष्टिलरीको १७ करोड, नेपाल टेलिकम र नबिल बैंकको १६/१६ करोड रुपैयाँको कारोबार भएको छ।
सबै उपसमूह राताम्मे भएको बजारमा जीवन बीमा समूह सर्वाधिक ३७२ अंकले घटेको छ। निर्जीवन बीमा समूह २५१ अंक, विकास बैंक समूह २०३ अंक,लघुवित्त समूह १३१ अंक,उत्पादन समूह १२४ अंक र व्यापार समूह ११८ अंकले घटेका छन्।
६० हजार पटकको कारोबारमा ८९ लाख २० हजार कित्ता सेयर चार अर्ब चार करोड रुपैयाँमा किनबेच भएका छन्। म्युचुअल फण्ड सहित चार अर्ब नौ करोड रुपैयाँको कारोबार भएको छ। ९ कम्पनि बाहेक सबै कम्पनीको सेयर मूल्य घटेको छ।










