काठमाडौं। भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले पृथ्वी राजमार्ग लेदोका कारण बन्द भएपछि काठमाडौं उपत्यकामा तरकारी र फलफूलको आपूर्ति घटेको छ।
कालीमाटी बजारमा दैनिक भित्रिने तरकारीको परिमाण बिहीबारदेखि कम भएको छ। तराई क्षेत्र र भारतबाट ढुवानी गरिएका तरकारी राजमार्ग बन्द भएपछि बाटोमै रोकिएको कालीमाटी तरकारी तथा फलफूल विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए।
‘बजारमा तरकारीको अभाव भइसकेको छैन,’ उनले भने, ‘उपत्यका र नजिकका धादिङ, मकवानपुर, काभ्रे लगायत जिल्लाबाट बजारमा तरकारी आइरहेको छ।’
हाल दैनिक ३ लाख किलोभन्दा बढी तरकारी कालीमाटी बजारमा भित्रिएको छ। बुधबारसम्म कालीमाटी बजारमा ६ लाख किलोभन्दा बढी तरकारी आउने गरेको थियो।
‘तरकारीको आपूर्ति पहिलेभन्दा कम भए पनि भाउ भने बढेको छैन,’ उनले भने, ‘बाढीका कारण धादिङ पारी र नुवाकोटबाट आउने तरकारी रोकिएको छ।’
भारतबाट आयात गरिएका आलु प्याज बाटोमै अड्किएको उनले जानकारी दिए।










