गुणले सुरु गर्‍यो प्रादेशिक उडान, पोखरा बेस बनाएर तीन गन्तव्यमा हवाई सेवा सुरु



बिजमाण्डू
२०७८ मंसिर ९ गते १७:४९ | Nov 25, 2021
गुणले सुरु गर्‍यो प्रादेशिक उडान, पोखरा बेस बनाएर तीन गन्तव्यमा हवाई सेवा सुरु

काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले आफ्नो व्यवसायिक योजनाअन्तर्गत पोखरालाई आधार बनाएर अन्तरप्रदेश उडान सुरु गरेको छ। बुधबारबाट पोखरा-भरतपुर उडान सुरु गरेको कम्पनीले आजबाट पोखरा-भैरहवा दुईतर्फी उडान सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले शुक्रबारबाट पोखरा-नेपालगञ्ज-पोखराको दुईतर्फी प्रादेशिक उडान गर्न लागेको प्रवक्ता प्रज्ज्वल थापाले बताए।

अहिले काठमाडौंलाई बेस बनाएर गुणले दैनिक १७ वटा उडान गर्दै आएको छ। कम्पनीले अब पोखरा बेस बनाएर समेत तीनवटा गन्तव्यमा प्रादेशिक उडान सुरु गरेको थापाले जानकारी दिए। कम्पनीले निकट भविष्यमा नियमिततर्फ भद्रपुर र सुर्खेतमा पनि उडान गर्ने व्यवसायिक योजना रहेको उनले बताए।

'हाम्रो व्यावसायिक योजनाअनुसार बुधबार प्रादेशिक उडान सुरु गरेका छौं। नौवटा गन्तव्यमा नियमित उडान गर्ने योजना छ। त्यहीअनुसार सुर्खेत र भद्रपुरमा पनि छिट्टै नियमित उडान गर्ने योजना छ,' प्रवक्ता थापाले भने।

गुणसँग अहिले दुईवटा बिचक्राफ्ट र पाँचवटा जेटस्ट्रिम जहाज गरी कुल सातवटा जहाज छन्। तीमध्ये हाल चारवटा जेटस्ट्रिम र एउटा बिचक्राफ्टबाट उडान सेवा दिँदै आएको छ। दुईवटा जहाज ग्राउन्डेड छन्। कम्पनीले आउँदो तीन महिनामा यी दुई जहाज पनि मर्मतसम्भार गरेर उडाउन थाल्ने तयारी रहेको थापाले जानकारी दिए।

गत असोज १ बाट नियमित उडान सुरु गरेको कम्पनीले हाल भरतपुर, पोखरा, भैरहवा, तुम्लिङटार, नेपालगञ्ज, विराटनगर, जनकपुर, सिमरा लगायत गन्तव्यमा नियमित हवाई सेवा दिँदै आएको छ।