खुकुरी रम बनाउने कम्पनीको वार्षिक कारोबार डेढ अर्ब माथि पुग्दै, यो वर्ष सर्वाधिक कारोबार गर्दै



बिजमाण्डू
२०७८ मंसिर २ गते ११:३९ | Nov 18, 2021
खुकुरी रम बनाउने कम्पनीको वार्षिक कारोबार डेढ अर्ब माथि पुग्दै, यो वर्ष सर्वाधिक कारोबार गर्दै


काठमाडौं। नेपाली मदिरा पारखीहरुबीच लोकप्रिय ब्राण्ड खुकुरी रमको व्यापार चम्किँदै गएको छ। शरद टिब्रेवालाको ८० प्रतिशत र बसन्त चौधरीको २० प्रतिशत सेयर स्वामित्व रहेको नेपाल डिस्टिलरिज प्रालिको व्यापार सन् २०२१ मा एक अर्ब ५५ करोड ६० लाख रुपैयाँ पुग्ने आँकलन गरिएको छ। ऋणका लागि रेटिङ गरेको इक्रा नेपालले कारोबार बढ्दै गएको जनाएको हो।

Tata
GBIME
Nepal Life

जबकी २०२० मा कम्पनीले एक अर्ब ११ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो। २०१९ मा कम्पनीले सर्वाधिक एक अर्ब ४८ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो। यस्तै, २०१८ मा नेपाल डिस्टिलरिजले एक अर्ब २४ करोड रुपैयाँ र २०१७ मा ९२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो।

२०१७, २०१८ र २०१९ को तीन वर्षे अवधिमा कम्पनीले स्वस्थ व्यापार गर्न सफल भएको थियो। २०२० मा भने कोरोना महामारीका कारण कम्पनीको व्यापारमा धक्का पुगेको थियो। २०२१ मा भने कोरोना महामारीका कारण बिथोलिएको कम्पनीको व्यापार पुनरागमन हुने अपेक्षा गरिएको छ। 

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार खुकुरी थ्री एक्सको बिक्री नेपालको रम बजारमा ८० प्रतिशत हिस्सा रहेको जनाएको छ। नेपाल डिस्टिलरिजले खुकुरी थ्री एक्स रमका साथै अन्य दुई भेरियन्ट (डार्क रम) उत्पादन गर्दै आएको छ। विगत दुई वर्षमा कम्पनीले ९५ प्रतिशतभन्दा बढी आम्दानी खुकुरी थ्री एक्सबाट कमाएको छ। जसका कारण कम्पनीको आम्दानी एउटै भेरियन्टमा निर्भर छ। 

खुकुरी रमको व्यापार ठन्डी महिनामा बढी हुने गरेको छ। नोभेम्बरदेखि फेब्रुअरीको महिनामा कम्पनीले ७२ प्रतिशतसम्म बिक्री गरेको इक्रा नेपालले उल्लेख गरेको छ। यी महिनामा कुनै पनि कारणले बिक्रीमा धक्का पुगेको खण्डमा कम्पनीको वित्तीय प्रोफाइलमै नकारात्मक असर पर्ने देखिन्छ। 

सरकारले मदिरामा बढाउँदै लगेको अन्त: शुल्कले कम्पनीको आम्दानी, मार्जिनमा अत्याधिक दबाब परेको बताइएको छ। सरकारले २५ युपीको मदिराका प्रडक्टहरुमा २० प्रतिशतसम्म अन्तशुल्क वृद्धि गरेको थियो। यो प्रति लिटर एक हजार १८८ रुपैयाँ हुन आउँछ। 

नेपाल डिस्टिलरिजले गत शुक्रबार मात्रै नयाँ प्याकेजिङमा खुकुरी रम सार्वजनिक गरेको थियो। २० वर्ष पुरानो पछिल्लो प्याकेजिङलाई नयाँ स्वरुप दिइएको छ। खुकुरी रम उत्पादक द नेपाल डिस्टीलरिज सन् १९५९ मा स्थापना भएको कम्पनी हो। स्थापनाको ६२ औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी प्याकेजिङ परिवर्तन गरिएको कम्पनीले जनाएको छ।

खुकुरी थ्री एक्सले लण्डन स्पिरिट्स २०२० मा स्वर्णसमेत जितेको थियो। खुकुरी रम युरोप र अमेरिका लगायतका १३ मुलुकमा निर्यात हुँदै आएको छ।

यस्तै, इक्रा नेपालले नेपाल डिस्टिलरिजले कर्जाका लागि गराएको रेटिङ पनि बढुवा गरिदिएको छ। कम्पनीको वित्तीय अवस्थाका साथै नाफामा उल्लेख्य वृद्धि हुने कारण देखाउँदै इक्रा नेपालले रेटिङ वृद्धि गरेको जनाएको छ।

यसअघि कम्पनीले ९५ करोड रुपैयाँ र अहिले ६० करोड रुपैयाँको रेटिङ गराएको थियो। जसका लागि इक्रा नेपालले नेपाल डिस्टिलरिजलाई दीर्घकालीन ऋणका लागि एनपी एल त्रिपल बी प्लस र छोटो अवधिको कर्जाका लागि एनपी एटु प्लस रेटिङ दिएको छ।