काठमाडौं। ब्रोइलर कुखुराको मूल्य लगातार बढ्न थालेको छ। पछिल्लो समय उत्पादन घटेपछि बजारमा मूल्य बढेको हो।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो कुखुराको मूल्य प्रति किलो १० रुपैयाँ बढाएको छ।
संघले मंगलबारदेखि लागू हुने गरी जिउँदो कुखुराको मूल्य प्रति किलो २६० रुपैयाँ तोकेको हो। यसअघि यसको मूल्य प्रति किलो २५० रुपैयाँ थियो।
तयारी मासु पनि महँगिएको छ। अहिले तयारी मासुको मूल्य प्रति किलो ३६० रुपैयाँ पुगेको छ।
गत चैतदेखि असारसम्म देशका विभिन्न स्थानमा बर्डफ्लु देखिएको थियो। त्यसका कारण कुखुरा उत्पादन घटेपछि बजारमा कुखुराको आपूर्ति प्रभावित भएको व्यवसायीको भनाइ छ।
यसअघि कुखुराको मासुको मूल्य घटेर प्रति किलो ३१५ रुपैयाँसम्म पुगेको थियो। करिब एक महिनाको अवधिमा मासुको मूल्य प्रति किलो १०० रुपैयाँसम्म घटेको थियो।
त्यस्तै, जिउँदो कुखुराको मूल्य पनि घटेर प्रति किलो २२० रुपैयाँसम्म आएको थियो।
साउन १ गतेपछि बर्डफ्लुको प्रभाव कम हुँदै गएको व्यवसायीको भनाइ छ। त्यसयता जिउँदो कुखुराको मूल्य एक महिनामै करिब ४० रुपैयाँ बढिसकेको छ। तयारी मासुको मूल्य पनि प्रति किलो ४५ रुपैयाँभन्दा बढीले बढेको छ।
बजारको मागअनुसार उत्पादन हुन नसके मूल्य अझै बढ्न सक्ने व्यवसायीहरू बताउँछन्। पर्याप्त उत्पादन नहुँदासम्म कुखुराको मासुको मूल्यमा तत्काल कमी आउने सम्भावना कम देखिएको छ।









