८० अंक झरेर बन्द भयो सेयर बजार, पछिल्लो २० मिनेट अर्बको कारोबार, किन घट्यो बजार?



बिजमाण्डू
२०७८ कात्तिक २३ गते १५:१४ | Nov 9, 2021
८० अंक झरेर बन्द भयो सेयर बजार, पछिल्लो २० मिनेट अर्बको कारोबार, किन घट्यो बजार?

काठमाडौं। ९९ अंकले घटिसकेको बजारमा पछिल्लो २० मिनेट केही करेक्सन भएर ७९.७९ अंक मात्र झरेर कारोबार बन्द भएको छ। तिहार बिदा सकिएयता बजार घट्न थालेकोछ ।

Tata
GBIME
Nepal Life

मंगलबार बजार २७५० अंक हाराहारीमा आएको छ। दिनभरीमा २२५ कम्पनीको ६ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ। अन्तिम २० मिनेट करिव एक अर्ब रुपैयाँको कारोबार भएको छ।

ब्रोकरहरुका अनुसार, बैंक तथा वित्तीय संस्थाको ऋण उठाउने आतङ्कका कारण बजारमा पहिरो गएको हो। राष्ट्र बैंकको नीतिपछि बजारबाट तरलता हराएर गएको छ।

तरलता नभएर सीडी रेसियो ९० प्रतिशत नाघ्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरुले ऋण बन्द गरेका छन्। ऋण दिइरहेका बैंकले पनि सेयर बजारमा दिन छाडेका छन्। पहिले दिएको ऋण उठाउन पनि तारन्तार ताकेता गर्न थालेका छन्।

अभावका कारण मंसिरबाट ब्याज दर थप बढ्ने निश्चित जस्तै छ। त्यही भएर पनि लगानीकर्ता आतङ्कित बनेका छन्। 

दसैंतिहार सकिएपछि सेयर बजारमा पहिले लगानी गरेको पैसा झिकेर आफ्नो साबिकको ब्यवसायतर्फ लैजाने क्रम पनि सुरु भएको छ। अर्कोतिर बिदेशमा रहेका नेपालीहरुले पनि अनलाइन कारोबार गर्दै आएका थिए। उनीहरुले पनि लगानी झिक्न थालेका छन्। पछिल्लो समय बिटक्वाइनको भाउ बढ्न थालेपछि उनीहरु उतातिर लाग्न थालेको जानकारहरु बताउँछन्।

'देखिने तरलता अभाव र ब्याज दर बृद्धि हो' एक ब्रोकरले भने, 'नदेखिनी यस्ता धेरै कारणहरु छन्। त्यही भएर बजार घटेको हो।' 

बजारका सबै उपसूचकहरु ओरालो लागेका छन्। बीमा, बैंक, लगानी, जलविद्युत उच्च दरले झरेका छन्। बजार झर्दा पनि मानुषी लघुवित्त, साहस उर्जा र तेह्रथुम पावरको सेयर मूल्य बढेर सर्किट लागेको छ। सर्वाधिक १० प्रतिशत आइसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्य झरेको छ।

बजमारमा २९ करोड ८२ लाख रुपैयाँको नबिल बैंकको सेयर कारोबार भएको छ। साहस उर्जाको २५ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ।