काठमाडौं। कुमारी बैंकले परिवार सुरक्षा बचत खाता (पीएसबीके) अन्तर्गतको बीमा दाबी रकम लाभग्राहीलाई हस्तान्तरण गरेको छ।
दुर्घटनामा श्रीमानको दुःखद् निधनपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि बैंकको गढवा शाखाले श्रीमती खुमा पौडेललाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो। उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास बैंकले लिएको छ।
बैंकले ग्राहकहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनाहरूसँग आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।
‘परिवार सुरक्षा बचत खाताअन्तर्गत प्रदान गरिने बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ,’ बैंकको विज्ञप्तिमा उल्लेख छ।
विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यअनुरूप सञ्चालन गरिएका यस्ता सुविधाहरूले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहक तथा परिवारलाई आवश्यक समयमा वित्तीय सहयोग प्रदान गर्ने बैंकले जनाएको छ।










