सबै पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल १३३, डिजल ११६ र ग्यास सिलिण्डरको १५ सय पुग्यो



बिजमाण्डू
२०७८ कात्तिक १३ गते ०१:१३ | Oct 30, 2021
सबै पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल १३३, डिजल ११६ र ग्यास सिलिण्डरको १५ सय पुग्यो

काठमाडौं। नोक्सानी मासिक रुपमै साढे चार अर्ब पुगेपछि नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबारदेखि लागु हुने गरि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

Tata
GBIME
Nepal Life

निगमले पेट्रोल, डिजल, मट्टितेलको लिटरमै तीन रुपैयाँ मूल्य बढाएको छ। यो मूल्यवद्धि पछि पेट्रोलको मूल्य लिटरको १ सय ३३ रुपैयाँ र डिजलको मूल्य १ सय १६ रुपैयाँ पर्नेछ। निगमले हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँले बढाएको छ।

अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य लिटरको ९६ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर ८ सय ५३ डलर कायम भएको छ। निगमले खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ५० रुपैयाँ मूल्य बढाएर १५ सय रुपैयाँ पुर्‍याएको छ। यो मूल्य बढाउँदा पनि निगमको मासिक नोक्सानी १ अर्ब ८७ करोड रुपैयाँ हुने अनुमान देखिएको छ।

निगमका अनुसार मूल्य बढाएपछि पनि पेट्रोलमा १२ रुपैयाँ ५५ पैसा र डिजलमा ११ रुपैयाँ ६७ पैसा नोक्सानी छ भने खाना पकाउने ग्यासमा एक सिलिण्डरमा ४ सय ६१ रुपैयाँ २२ पैसा नोक्सानी छ। यो मूल्य बढाउँदा पनि भारत भन्दा पेट्रोल लिटरमा ४५ रुपैयाँ ८२ पैसा र डिजल ४९  रुपैयाँ ७३ पैसा नेपालमा सस्तो छ।

मन्त्रिपरिषद् बैठकमा छलफल

विहीबारको मन्त्रिपरिषद् बैठकमा पेट्रोलियम पदार्थको मूल्य बढाउने बारेमा छलफल भएको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएपछि निगमको नोक्सानी धान्नै नसक्ने परिस्थिती आएकाले मूल्य बढाउनुको विकल्प नभएको निष्कर्ष बैठकमा निकालिएको थियो।

मन्त्रिपरिषद् बैठकले मूल्य बढाउन मौखिक सहमति गरेपछि निगमले शुक्रबार राती निर्णय गरेको हो। स्वचालित मूल्य समायोजन गर्न पाउने निगमको अधिकार भएपनि राजनीतिक मुद्दा बन्ने भएकाले सरकारको सहमति लिने गरिएको छ।