काठमाडौं। झण्डै दुई अर्ब रुपैयाँको हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको धादिङ सत्यदेवी घर भएका ४९ वर्षीय राजेन्द्र रिजाललाई नियन्त्रणमा लिएको हो। उनीमाथि १ अर्ब ८९ करोड रुपैयाँ हुन्डीमार्फत कारोबार गरेको आरोप छ।
अनुसन्धान थालिएपछि प्रहरी रिजाललाई पक्राउ अनुमति लिन अदालत पुगेको थियो। हुन्डी कारोबार गर्न नहुने कसुरमा जिल्ला अदालतबाट अनुमति लिएर रिजाललाई पक्राउ गरिएको सीआइबीका एसएसपी अनुप शमशेर जबराले बताए।
अनुसन्धानमा त्यति ठूलो रकम बैंकिङ कारोबारबाट नै विभिन्न व्यक्तिहरुसँग मिलेर कारोबार गरेको देखिन्छ। रसियामा रहेका नेपालीहरुसँग रकम कलेक्सन गरेर पठाएको खुलेको छ। यस घटनामा रिजालको परिवारका केही सदस्य समेत जोडिएका छन्।
‘रसियामा उनका आफन्तमार्फत कारोबार भएको देखिएको छ,’ एक अनुसन्धान अधिकृतले भने।










