काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) देशको संवेदनशील मुद्दामा समेत जनतासँग प्रत्यक्ष संवादबाट टाढा भइरहेका छन्। सुनसरीको घट्नाले सिंगो देश तरंगित भइरहँदा प्रधानमन्त्री बालेन जनअपेक्षा विपरीत सामाजिक संजालमा स्टाटस लेखेर उम्किन खोजेको भन्दै सर्वत्र आलोचना भइरहेको छ।
साम्प्रदायिक सद्भाव बिथोलिने अवस्था जस्तो संवेदनशील विषयमा दलहरुलाई बोलाएर एकताको सन्देश दिनुपर्नेमा बालेन त्यसमा चुकेका छन्।
बालेनको सट्टा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक डाके। तर, रविले डाकेको बैठकमा जान पनि बालेनले आवश्यक देखेनन्। राष्ट्रपति रामचन्द्र पौडेललाई समेत रवि गएर सर्वदलीय बैठकबारे ब्रिफिङ गरेका थिए।
त्यति मात्र होइन, शान्ति सुरक्षा कायम गर्न प्रमुख भूमिका निर्वाह गर्ने जिम्मेवारीमा रहेका गृहमन्त्री सुधन गुरुङ समेत दलहरुको बैठकमा सहभागी भएनन्।
बालेन र सुधनले अपनाएको शैलीले स्वयं रास्वपा सभापति रविले नै लज्जित महसुस गर्नुपरेको धेरैको बुझाइ छ।
डिजिटल माध्यम प्रयोग गरेर राजनीतिमा उदाएका बालेनले सत्तामा पुगेर पनि त्यसैलाई उपयोग गरेर समाधान खोज्न चाहनु अपरिपक्वता हो। बालेन र उनको टिमले के बुझ्न आवश्यक छ भने राजनीतिक उदय र राज्य संचालन एउटै विषय होइन। जनमत बटुल्न लिएको रणनीति शासन संचालनमा सफलता दिन्छ भन्ने सोच्नु नै गलत हो।
सत्तामा पुग्न अपनाएको शैलीलाई निरन्तरता दिइरहनु सबैभन्दा ठूलो कमजोरी पनि बन्न सक्छ। निश्चय पनि परम्परागत राजनीतिक दलप्रतिको बढ्दो वितृष्णा, युवापुस्ताको डिजिटल लत र सामाजिक संजालको प्रयोगबाट बालेनलाई देशको सर्वोच्च पदमा पुर्याएको हो। यो मुलुकको लोकतन्त्रमा नयाँ प्रयोग थियो।
तर, प्रधानमन्त्रीको जिम्मेवारी सामाजिक संजालको लोकप्रियता भन्दा फरक हुन्छ। प्रधानमन्त्री इको चेम्बरभित्र बसेर एल्गोरिदम केलाउँदै आत्मप्रशंसामा रमाउनु अर्को गम्भीर गल्ती हो।
इको चेम्बर, जहाँ एउटै सोच राख्ने समर्थकको मात्रै आवाज सुनिन्छ, प्रशंसा मात्रै देखिन्छ र आलोचना सुनिंदैन। सामाजिक संजालको यही इको चेम्बर बालेनका लागि गम्भीर कमजोरी बन्ने संकेत देखिइसकेको छ। सामाजिक संजालका एल्गोरिदमले पनि धेरैजसो यस्तै वातावरण निर्माण गरिदिन्छ।
पपुलिजममा रमाउने नेताहरूका लागि यो सुविधा हुन सक्छ, तर शासन संचालनका लागि यो गम्भीर कमजोरी बन्नेछ। प्रधानमन्त्रीको दायित्व फेसबुक पोष्टमा लेखेर बस्ने होइन, नागरिकलाई प्रत्यक्ष रुपमा सम्बोधन गर्ने र राज्यको उपस्थिति छ भनेर भरोसा दिलाउने हो।
सुनसरी घटनामा प्रधानमन्त्री बालेन मध्यरातमा फेसबुकमा देखिएको आमनागरिकलाई पटक्कै चित्त बुझेको छैन। संकटमा रहेका र भय महसुस गरिरहेका जनतालाई मनोवैज्ञानिक रुपमा ढाढस दिन बालेन असफल देखिएका छन्।
प्रधानमन्त्री बालेन सुरक्षा निकायसँग समन्वय गर्नेदेखि राष्ट्रका नाममा सम्बोधन गर्दै शान्ति र सामाजिक सद्भावका लागि अपिल गर्नबाट चुकेका छन्। संकटका बेलामा समेत मौनता र डिजिटल उपस्थितिले राज्यप्रति अविश्वास बढ्दै जानेछ भन्ने बालेनलाई हेक्का होस्।
सन् २०१९ मार्च १५ मा न्यूजिल्याण्डका दुईवटा मस्जिदमा गोलीकाण्ड भयो। यो गोलीकाण्डमा ४९ जनाको मृत्यु भयो। घट्नापछि तत्कालीन प्रधानमन्त्री जेसिन्डा आर्डर्नले आतंकवादी हमला भन्दै घट्नास्थलमै पुगेर पीडित समुदायसँग भेटिन्। उनले राष्ट्रवासीलाई सम्बोधन गर्दै ढाडस दिइन्।
उनका लागि सामाजिक संजाल सहायक माध्यम थियो। यो उदाहरण बालेनका लागि पाठ हुनुपर्ने हो। सामाजिक संजालको पहुँच बृहत्तर होला तर देशमा संवेदनशील घटना हुँदा नागरिकले प्रधानमन्त्रीलाई टेलिभिजनदेखि संसद् र अरु ठाउँमा प्रत्यक्षरुपमा देख्न र सुन्न चाहेका छन्।
राजकाज चलाउने शैलीलाई लिएर बालेनमाथि अहिले प्रश्न उठिरहेका छन्। ३ वर्ष मेयर हुँदा उनले कमाएको विश्वास प्रधानमन्त्री भएको छोटो समयमा नै गुम्दैछ, जनतामा असन्तुष्टि बढ्न थालेको छ।
राहदानी छपाइको ठेक्का प्रकरणदेखि सुकुम्बासी हटाउनेसम्मका विषयलाई लिएर सत्ता सम्हालेको चार महिनामै बालेनको आलोचना बढिरहेको छ। लोकतान्त्रिक व्यवस्थामा आरोप लाग्न सक्छ, तर त्यसको स्पष्ट र तथ्यमा आधारित जवाफ दिनु अनिवार्य हुन्छ। प्रश्नबाट भाग्नु जवाफदेहीता हुन सक्दैन।
लोकतन्त्रमा लोकप्रियताभन्दा विश्वास ठूलो हुन्छ। विश्वास आर्जन पारदर्शीता र निरन्तर संवादबाट हुन्छ। यदि प्रधानमन्त्रीले आफ्ना समर्थकहरूको प्रशंसामात्र सुन्ने र आलोचनालाई बेवास्ता गर्ने प्रवृत्तिलाई निरन्तरता दिए भने केही समय अगाडिको जयजयकार विरोधमा बदलिन्छ। त्यो विस्तारै मुखरित हुन पनि थालेको छ।
प्रधानमन्त्री बालेनले बुझ्न आवश्यक छ कि अवसर सधैं रहँदैन। त्यही भएर इको च्याम्बरबाट बाहिर निस्केर आलोचना सुन्ने, जनतासँग प्रत्यक्ष संवाद गर्ने, संकटका बेला अग्रपङ्क्तिमा उभिएर लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउनेतर्फ प्रधानमन्त्री बालेन लाग्नु उनकै लागि श्रेष्यकर हुनेछ।
समयमै यो सन्देश ग्रहण गर्न सके प्रधानमन्त्री बालेन अवसर गुमाउने नेताको सूचीमा होइन, अवसरलाई परिणाममा रूपान्तरण गर्ने नेताको रूपमा इतिहासमा स्थापित हुनेछन्। उनको सफलता केवल उनको व्यक्तिगत उपलब्धि हुनेछैन, त्यो देशको सफलता हुनेछ।
देश सफल भयो भने प्रधानमन्त्रीको जयजयकार स्वतः हुनेछ। उनले गाएका गीतहरुले पनि त्यही सन्देश दिएको थियो। उनी देश हाँसेको हेर्न चाहेको बताउँदै र्याप गाउँथे, गरिबका लागि बोलिदिने मान्छे खोज्थे। तर, अहिलेको अवस्थामा त्यसका लागि सामाजिक संजाल भन्दा जनताको वास्तविक आवाज सुन्ने साहस आवश्यक छ।








