काठमाडौं। सुनसरी घटनाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र उनको मन्त्रिपरिषद्मा सहभागी मन्त्रीहरु अनुपस्थित भएका छन्।
सुनसरीको देवानगञ्ज घटनामा प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरुङको भूमिकाका विषयमा दलहरुले प्रश्न उठाउँदै आएका छन्। बैठकमा सभापति लामिछानेसँगै रास्वपाका नेताहरु उपस्थित छन्।
कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमालेका महासचिव शंकर पोखरेल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु सहभागी भए पनि सरकारका तर्फबाट प्रत्यक्ष सहभागिता छैन।
सत्तारुढ दलको सभापतिले बोलाएका सर्वदलीय बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री र मन्त्रीहरु सहभागी हुने अभ्यास भए पनि प्रधानमन्त्री र मन्त्रीहरु अनुपस्थित भएका हुन्। लामिछाने र शाहबीच पछिल्लो समय तिक्तता देखिइरहेका बेला लामिछानेले बोलाएको बैठकमै सरकारका तर्फबाट कुनै पनि मन्त्री उपस्थित नभएका हुन्।
सरकारका तर्फबाट कोही पनि सहभागी नभएपछि दलहरुले संवादमा सरकार चुकेको विषयमै केन्द्रित बनेका छन्।
दलहरुले आफ्ना कुरा सरकारलाई सुनाउन नपाएको भन्दै शाहको आलोचना गरेका छन्। सरकार प्रमुखको हिसाबले शाहले संवाद नै गर्न नचाहेको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापाले शाह फेसबुकको स्टाटसमा सीमित रहेको बताए। सरकारले संयमता अपनाउन चुक्दा मानवीय क्षति भएको थापाले बताएका छन्।
उनले बैठकमा लामिछानले दलहरुसँग संवादका लागि अग्रसरता लिएको भन्दै खुसी व्यक्त गरेका थिए। ‘सभापतिले जुन अग्रसरता लिनुभयो त्यसका लागि धन्यवाद छ। हामी सबै राजनीतिक दल तलदेखि माथिसम्म एउटै ठाउँमा छौं सामाजिक सद्भाव कायम गर्नका लागि। तर, सरकार बन्दुक र लाठिमा मात्रै भेटियो। अन्त कहाँ छ सरकार? फेसबुकमा लेख्नमा मात्र सरकार सीमित नहुनु पर्ने हो,’ थापाले भनेका थिए।
नेकपा संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्ने बताए। ‘प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्छ। संसद्मै पनि सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन,’ उनले भने। सरकारले आफूलाई सच्याएर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो।
बैठकमा एमालेका महासचिव शंकर पोखरेलले पनि सरकार सामाजिक सद्भाव कायम राख्न संवेदनशील नभएको भन्दै आलोचना गरेका छन्। सर्वदलीय बैठक नै प्रधानमन्त्री शाह आफैंले बोलाउनुपर्नेमा मंगलबार राति फेसबुकमा आफ्नो भनाइ सार्वजनिक गर्नमै सीमित भएको भन्दै दलहरुले आलोचना गरेका हुन्।
सरकारले संयमता नदेखाएको अवस्थामा तराईंमा देखिएको धार्मिक हिंसाले ठूलो रुप लिनसक्ने भन्दै लामिछानेमार्फत दलहरुले सरकारको ध्यानकर्षण गराए। ‘हामी सभापति मार्फत प्रधानमन्त्रीको ध्यानकर्षण गराउँछौं। सरकार नै सबैभन्दा बढी संवादमा जुट्नुपर्छ। सामाजिक सदभाव कायम राख्ने सरकारले पहल गर्नुपर्छ। यसका लागि तपाईंले प्रधानमन्त्रीलाई भन्नुपर्छ,’ बैठकमा उनले भनेका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सरकार हिंसा फैलन नदिन गम्भीर नभएको भन्दै सरकारको आलोचना गरेको छ। दलहरुले तत्काल सरकारलाई समाजिक सद्भाव कायम गर्नका लागि पहल गर्न सुझाव दिएका छन्।
शाहले प्रधानमन्त्री भएको चार महिनासम्म पनि राजनीतिक दलहरुसँग सामूहिक संवाद गरेका छैनन्। उनले प्रतिनिधि सभा नियमावली अनुसार संसद्मा प्रश्नोत्तरमा समेत सहभागिता जनाएका छैनन्। जसबारे दलहरुले नियमित संसद् बैठकहरुमा विरोध जनाइरहेका छन्। विभिन्न घटनाहरुमा सरकारको धारणा दलहरुले माग गरे पनि सरकार भने जवाफ दिन तयार भएको छैन।









