काठमाडौं। लगातारको वर्षाले तरकारी खेतीमा असर गरेपछि त्यहो असर बजारमा परेको छ। बजारमा हरिया तरकारीको भाउ ह्वात्तै बढेको छ। तरकारीको मूल्य एक महिनामा थोक बजारमै ४०० प्रतिशतसम्म बढेको छ।
असार पहिलो सातासम्म तरकारीको भाउ निक्कै सस्तो रहेकामा अहिले उपभोताले महँगो मूल्य तिर्नुपरेको छ।
कालीमाटीको थोक बजारमा रायो सागको भाउ सबैभन्दा धेरै ४०० प्रतिशत बढेको छ। गत असार ९ गते प्रति केजी ३५ रुपैयाँ रहेको रायो साग साउन ८ गते १७५ रुपैयाँ पुगेको छ।
तोरी र पालुंगोको सागको भाउ पनि १४४ प्रतिशतसम्म बढेर प्रति केजी ११० रुपैयाँ पुगेको छ।
घिरौंला १९२ प्रतिशतले बढेर प्रति केजी ९५ रुपैयाँ पुगेको छ। भिण्डीको भाउ प्रति केजी २५ रुपैयाँबाट ७३ रुपैयाँ पुगेको छ। भण्टा १५० प्रतिशतले महँगिएको छ। भण्टाको मूल्य थोक बजारमै प्रति केजी ४४ रुपैयाँ पुगेको छ।
हरियो धनियाँको मूल्य पनि बढेर प्रति केजी २५० रुपैयाँ पुगेको छ।
तने बोडी एक महिनामा ३४० प्रतिशतले महँगिएको छ। असार ९ गते प्रति केजी २५ रुपैयाँ रहेको बोडीलाई उपभोक्ताले अहिले थोक बजारमै ११० रुपैयाँ तिर्नुपर्छ। टनेलको गोलभेडाको थोक मूल्य १९ रुपैयाँबाट ३२ रुपैयाँ पुगेको छ।
यसबाहेक सिमी, काउली, भटमास कोसा, करेला, च्याउ, ब्रोकाउली लगायत तरकारीको भाउ बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका प्रवक्ता विनय श्रेष्ठले लगातारको वर्षाले उत्पादन घटेपछि हरिया तरकारी महँगो भएको बताए।
समितिका अनुसार ठूलो गोलभेडा, कांक्रो, खुर्सानी र भेडे खुर्सानीको मूल्य भने बढेको छैन।
‘वर्षायाममा सागको उत्पादन निकै कम हुन्छ। त्यसैले अहिले भाउ महँगिएको हो। रायो सागको मूल्य अहिले थोक बजारमै प्रति केजी १७५ देखि २०० रुपैयाँ छ,’ उनले भने।
श्रेष्ठका अनुसार अहिले तराइका जिल्लाबाट हरिया तरकारी खासै आएको छैन। ‘बजारमा सप्लाई कम छ। हरिया तरकारी जति आउनु पर्ने हो, त्यति आएको छैन,’ उनले भने। हाल बजारमा उपत्यका र वरिपरिका जिल्लाबाट हरिया तरकारी आइरहेको छ।
कालीमाटी बजारमा तीन दिनयता ३ देखि ४ लाख केजी तरकारी भित्रिरहेको छ। सिजनमा दैनिक ७ लाख केजीभन्दा बढी तरकारी भित्रिने गरेको थियो।
तरकारी व्यवसायी भगवानचन्द्र उप्रेतीले पनि लगातारको वर्षाले गर्दा बजारमा आपूर्ति घटेर मूल्य बढेको बताए। ‘स्वदेशी उत्पादन कम भएपछि अहिले लौका र फर्सी भारतबाट आउन थालेको छ,’ उनले भने।










