काठमाडौं। गगन थापाको नेतृत्वलाई आधिकारिता दिएको मुद्दा पुनरवलोकनका लागि नेपाली कांग्रेसको देउवा समूह सर्वोच्च अदालत पुगेको छ।
सभापतिमा गगन नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला पुनरवलोकनका लागि पूर्वउपसभापति पूर्णबहादुर खड्कासहितको टोलीले सर्वोच्चमा बुधबार निवेदन दिएको हो।
सर्वोच्चले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन पक्षलाई मान्यता दिने आदेश वैशाख ४ गते गरेको थियो। देउवा समूहको निवेदनमा अब ३ न्यायाधीशको इजलासमा पेसी तोकिनेछ।
यसअघि सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले देउवा पक्षको रिट खारेज गरेको थियो।
गत पुस अन्तिममा भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले गगनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। निर्वाचन आयोगले २०८२ माघ २ गते गगन नेतृत्वलाई आधिकारिकता दिएपछि देउवा पक्ष माघ ४ गते सर्वोच्च अदालत गएको थियो।









