मेस्सीको पेनाल्टी रोक्ने पिकफोर्डको जुक्ति : ‘फेक लेफ्ट, डाइभ राइट’, जुन हुनै पाएन



बिजमाण्डू
२०८३ साउन १ गते १४:३० | Jul 17, 2026
मेस्सीको पेनाल्टी रोक्ने पिकफोर्डको जुक्ति : ‘फेक लेफ्ट, डाइभ राइट’, जुन हुनै पाएन


काठमाडौं। फिफा विश्वकप २०२६ को फाइनलमा भिड्दैछन् अर्जेन्टिना र स्पेन। यसअघि दोस्रो सेमिफाइनलमा रोचक प्रतिस्पर्धा चलेको थियो- इङ्ग्ल्याण्ड र अर्जेन्टिनाबीच। यसमा अन्तिम समयमा मेस्सीको जादु चल्दा इङ्ग्ल्याण्डलाई २-१ गोलले हराएर अर्जेन्टिना फाइनल पुगेको हो।

Tata
GBIME

उसै पनि राइभल यी टोलीको खेलपछि पनि समाजिक सञ्जालमा चर्चा रोकिएको छैन। यी दुईको लामो समयदेखि लफडा रहेको ‘फाल्कल्याण्ड’को विषयले यसपालाको विश्वपकमा पनि चर्चा पायो।

केही अर्जेन्टिनी खेलाडीले खेलपछि ‘फाल्कल्याण्ड’ अर्जेन्टिनाको हो भन्ने आशयको ब्यानर देखाएपछि इङ्ग्ल्याण्डले अर्जेन्टिनाविरुद्ध फिफामा उजुरी नै गरेको छ। ब्रिटिस प्रधानमन्त्री केल स्टामरले यसमा चासो दिएका छन्।

यता अर्जेन्टिनी समर्थकले भने इङ्ग्ल्याण्डको ‘चिट कोड’लाई लिएर सामाजिक सञ्जालमा ट्रोल गरिरहेका छन्।

एटलान्टामा भएको खेलपछि अर्जेन्टिनाका खेलाडीले इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डको पानीको बोतल फेला पारे, जसमा सम्भावित पेनाल्टी सुटआउटका लागि तयार पारिएको ‘चिट कोड’ टाँसिएको थियो।

ईएसपीएनले सार्वजनिक गरेको भिडियोमा अर्जेन्टिनाका फर्वाड निको गोन्जालेजले उक्त नोट कप्तान लियोनेल मेस्सीलाई देखाइरहेका छन्। नोट हेरेपछि मेस्सीको अनुहारको हाउभाउ र प्रतिक्रिया सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

खेलमा निर्धारित ९० मिनेटमै अर्जेन्टिनाले पुनरागमन गर्दै २-१ को जित निकालेपछि पेनाल्टी सुटआउटको आवश्यकता नै परेन। त्यसैले पिकफोर्डले तयार पारेको रणनीति प्रयोगमै आएन।

पछि अर्जेन्टिनाका फिटनेस प्रशिक्षक लुइस मार्टिनले आफ्नो इन्स्टाग्राममा पिकफोर्डको त्यही बोतलको तस्बिर पोस्ट गरे।

बोतलमा टाँसिएको नोटमा अर्जेन्टिनाका सम्भावित पेनाल्टी प्रहारकर्ताबारे जानकारी राखिएको थियो। मेस्सीबारे लेखिएको टिपोटमा उनी बायाँ खुट्टाले प्रहार गर्ने खेलाडी भए पनि पेनाल्टी हान्दा पिकफोर्डले आफ्नो दायाँतर्फ हाम फाल्नुपर्ने उल्लेख छ।

यद्यपि, इंग्ल्यान्डको पेनाल्टी रणनीति कागजमै सीमित रह्यो। अर्जेन्टिनाले खेलको नतिजा अतिरिक्त समय वा पेनाल्टीसम्म पुग्न नदिई निर्धारित समयमै जित निकाल्दै स्पेनसँगको विश्वकप फाइनल यात्रा तय गर्‍यो।